काठमाडौँ: प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले नेपाललाई भारतले दिने भनेको २० करोड रुपैयाँसम्मको परियोजना आफूखुसी खर्च गर्न नपाउने बताएका छन्।

शुक्रबार बिहान बसेको संघीय संसद् अन्तर्गतको राज्यव्यवस्था समितिको बैठकमा सदस्यहरुले राखेको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भारतसँग हिजो भएको सम्झौता अनुसार उताबाट प्राप्त हुने सहयोग भारतले आफूखुसी खर्च गर्न नपाउने बताएका हुन्।

बिहीबार भारतीय विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा भारतले नेपालमा २० करोड रुपैयाँसम्मका परियोजनामा सिधै खर्च गर्न पाउने सम्झौता भएको थियो। जुन सम्झौताको कतिपयले बिरोध गरेका छन्।

बैठकमा एमाले सांसद रघु जी पन्तले २० करोड रुपैयाँ भारतले आफूखुसी खर्च गर्न पाउनेगरी भएको सम्झौता राष्ट्रिय स्वतन्त्रतालाई कमजोर पार्ने खालको भएको भन्दै विरोध गरेपछि प्रधानमन्त्रीले आफ्नो धारणा राखेका हुन्।

‘नेपालस्थित भारतीय दूतावासले २० करोड रुपैयाँसम्मको योजनामा आफूखुसी खर्च गर्न पाउने होइन। खर्च गर्ने प्रक्रियामा रहेर मात्रै रकम खर्च हुनेछ,’ बैठकमा प्रधानमन्त्री प्रचण्डले भने, ‘तीन करोडबाट सुरु भएर पाँच करोड हुँदै २० करोड लगानी गर्ने भन्ने सत्य हो। तर जसरी मन लाग्यो त्यसरी खर्च गर्ने होइन। खर्चको प्रक्रिया छ। भारतले जहाँ पायो त्यहीँ लगानी गर्ने या जसरी मन लाग्यो त्यसरी गर्ने भन्ने पनि होइन।’

एमाले सांसद पन्तले भारतीय विदेशमन्त्री नेपाल आउनासाथ चिनियाँ प्रतिनिधिमण्डल नेपाल आएको भन्दै भारतीय विदेशमन्त्री जयशंकर सिंहले प्रचण्डसँग विरोध जनाएको भनेर बैठकमा प्रधानमन्त्रीको धारणा मागेका थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version