काठमाडौं: राष्ट्रियसभा निर्वाचनको नयाँ परिणामसँगै राष्ट्रियसभामा रहेको दलीय समीकरण फेरिएको छ । राष्ट्रियसभामा अब नेकपा माओवादी केन्द्र सबैभन्दा ठूलो पार्टी बनेको छ ।

आज १९ सिटका लागि भएको चुनावमा माओवादी केन्द्रका ५ उम्मेदवार निर्वाचित भए । कांग्रेका १० जना निर्वाचित हुँदा एकीकृत समाजवादीका दुई र जनता समाजवादी पार्टीका एक जना निर्वाचित भए ।

माओवादीबाट हाल राष्ट्रियसभामा उपाध्यक्षसहित १५ जना छन् । ३ जना फागुन २० मा बिदा हुँदैछन् । आज थप ५ जना निर्वाचित भएकाले राष्ट्रिय सभामा माओवादी केन्द्रका १७ सांसदसहित सबैभन्दा ठूलो दल भएको हो ।

राष्ट्रिय सभामा कांग्रेसका हाल १० सांसद रहेकोमा ४ जना फागुन २० मा बिदा हुँदैछन् । बाँकी रहेका ६ जनामा बिहीबार १० जना थपिएपछि राष्ट्रिय सभामा कांग्रेस १६ सिटसहित दोस्रो ठूलो दल बन्न पुगेको छ ।

हाल एकीकृत समाजवादीका ८ जना छन् । दुई जना फागुनबाट बिदा हुँदै गर्दा आज नयाँ दुई जना निर्वाचित भएकाले उसको सांसद संख्या ८ नै रहनेछ ।

एमालेका १७ जना राष्ट्रिय सभा सदस्य थिए। तीमध्ये ८ जनाको पदावधि फागुन २० मा सकिँदैछ। एमालेले कोशीमा राप्रपासँग बाहेक अन्त कतै तालमेल गर्न पाएन। तालमेल भएको कोशीमा एमालेका एक सांसद विजयी भए । एमालेले रिक्त रहेका ८ मा ७ सिट गुमाएसँगै एमालेका अब १० जना सांसद छन्। योसँगै एमाले राष्ट्रिय सभामा तेस्रो दल बनेको छ।

जसपाकी प्रमिलाकुमारी यादवको कार्यकाल २० फागुनमा सकिँदै गर्दा आज एक जना निर्वाचित भएर आएकाले जसपाको राष्ट्रिय सभामा उपस्थिति यथावत छ ।

लोसपाको पनि एक जना सांसद राष्ट्रिय सभामा छन् । यसरी माथिल्लो हाउसमा सात दलको उपस्थिति रहने छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version