काठमाडौँ : नेपाल यो वर्ष पनि व्यापक भ्रष्टाचार हुने देशहरूको सूचीमा परेको छ। ट्रान्सपरेन्सी इन्टरनेशनलले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई)मा नेपाल व्यापक भ्रष्टाचार हुने देशभित्रै परेको हो।

तर नेपालले व्यापक भ्रष्टाचार हुने मुलुकहरूको सूचीमा रहेर पनि गत वर्षभन्दा केही सुधार गरेको छ। नेपालले गत वर्ष ३४ अंक पाएको अवस्थामा यो वर्ष ३५ अंकसहित केही सुधार गरेको हो। त्यहीकारण नेपाल सुशासनको सवालमा तय गरिएको वरीयतामा दुई स्थान माथि उक्लिएको छ।

गत वर्ष नेपाल ११० औँ स्थानमा थियो। तर यस वर्ष १ अंक सुधार गरेकाले १०८ औँ वरीयतामा रहन सफल भएको हो।

ट्रान्सपरेन्सी इन्टरनेशनलका अनुसार नेपाल ५० भन्दा कम अंक ल्याएर सुशासन कायम गर्न असफल रहेका देशहरूमै परेको छ।

नेपाल अझ ३५ अंकमात्रै ल्याउँदै गम्भीर भ्रष्टाचारको समस्यामा झेलिरहेका देशहरूको सूचीमा परेको छ। ट्रान्सपरेन्सी इन्टरनेशल नेपालकी अध्यक्ष पद्यिनी प्रधानांगका अनुसार नेपालमा राजनीतितर्फको भ्रष्टाचारमा केही कमी आएको छ। त्यहीकारण समग्रमा १ अंकको सुधार सम्भव भएको हो।

नेपालको झिनो सुधार देखिँदा छिमेकी भुटान दक्षिण एसियाको कम भ्रष्टाचार हुने मुलुक बनेको छ। भुटानले ६८ अंक पाएको छ। अहिलेको सूचीमा भुटान २६ औँ स्थानमा परेको छ। यो क्षेत्रमा अफगानिस्तानमा सबैभन्दा धेरै भ्रष्टाचार भइरहेको ट्रान्सपरेन्सी इन्टरनेशनलले जनाएको छ।

अध्यक्ष प्रधानांगले नेपालमा भ्रष्टाचारको समस्या ब्यापक रहेको बताउँदै हाल संसद्मा विचाराधीन भ्रष्टाचारसम्बन्धी विधेयकलाई अघि बढाउनुपर्नेमा पनि जोड दिएकी छन्।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले विश्वका १८० देशहरूलाई समेटेर यो प्रतिवेदन तयार गरेको हो। उक्त संस्थाका अनुसार ९० अंकसहित डेनमार्क कम भ्रष्टाचार हुने देश बनेको छ। सोमालिया सबैभन्दा कम अर्थात ११अंकसहित सबैभन्दा बढी भ्रष्टाचार हुने देश बनेको छ।

ट्रान्सपरेन्सीले शून्य अंक पाउने देश सबैभन्दा धेरै भ्रष्टाचार हुनेमा पर्ने जनाएको छ। यदि १०० अंक ल्याए भ्रष्टाचार नहुने देश दरिने उक्त संस्थाले जनाएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version