काठमाडौँ:
नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फागुन १ गते देशैभर ‘जनयुद्ध दिवस’ मनाइने बताएका छन्।

पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले ‘जनयुद्ध दिवस’ मनाउने हक कसैले खोस्न नसक्ने बताए।

‘जनयुद्ध दिवस मनाउने हाम्रो नैसर्गिक हक कसैले खोस्न सक्दैन, भोलि (फागुन १ गते) देशैभर जनयुद्ध दिवस मनाइन्छ,’ प्रधानमन्त्री दाहालले भने।

सर्वोच्च अदालतले गत पुस १३ गते अबदेखि ‘जनयुद्ध दिवस’ मा बिदा नदिन आदेश दिएको थियो। शान्ति प्रक्रियाका कार्यभार पूरा नहुँदै गरिएको सार्वजनिक बिदाले पीडितलाई थप पीडाबोध भएको सर्वोच्चको व्याख्या थियो।

गत वर्ष फागुन १ मा संघीय सरकारले ‘जनयुद्ध दिवस’ मा सार्वजनिक बिदा दिएको थियो। उक्त बिदा यसपालि कायम नरहेको गृह मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। तर माओवादीले जितेका कतिपय स्थानीय तहमा फागुन १ मा सार्वजनिक बिदा दिइएको छ।

प्रधानमन्त्री दाहालले समाजवादी मोर्चालाई थप व्यवस्थित बनाएर आन्दोलन गर्नेतिर जाने पनि बताएका थिए।
फरक प्रसंगमा उनले बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकताका कुरा चले पनि ठोस रूपमा गति नलिएको बताएका छन्।

‘बाबुरामजीको पार्टीसँग एकताको कुरा चलेको छ। तर गति लिएको छैन। विप्लवलगायत अन्य पार्टीसँग पनि तत्काल एकता हुने सम्भावना छैन,’ प्रचण्डका भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version