काठमाडौँ: नेकपा (एमाले) ले सचिवालय बैठक बोलाएको छ।
सचिवालय बैठक बिहीबार अपराह्न ३ बजे पार्टी कार्यालयमा बस्ने उपमहासचिव पृथ्वीसुब्बा गुरूङले जानकारी दिए।
उनकाअनुसार सचिवालय बैठकको प्रस्ताव तयार पार्न अहिले केन्द्रीय कार्यालयको बैठक बस्दैछ।
महासचिव शंकर पोखरेल नेतृत्वको कार्यालयको बैठकले केन्द्रीय कमिटीको बैठकको मिति तय गर्ने सम्भावना रहेको उनले बताए। कार्यालय बैठकले सचिवालय बैठकको कार्यसूची पनि तय गर्नेछ।
एमालेले फागुन १० देखि १३ गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको छ।
‘हामी फागुनको दोस्रो साता केन्द्रीय कमिटीको बैठक बोलाउँछौं,’ प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने।
एमालेले सरकारविरूद्ध आन्दोलनको तयारी पनि गरेको छ।
जिल्ला-जिल्लामा प्रशिक्षण, भेला र संगठन पुनःनिर्माणलाई गति दिइरहेका एमालेले तल्ला कमिटीलाई आन्दोलनमा रहन निर्देशनसमेत दिइसकेको उनले बताए।
पहिलो चरणमा एमाले सातै प्रदेशमा विरोध सभाको तयारी गरेको छ।
सचिवालय बैठकमा राष्ट्रिय सभा निर्वाचन, सरकारको काम–कारबाहीबारे पनि समीक्षा हुने एमालेले बताएको छ।

