काठमाडौँ: चितवनकी शालिन पोखरेल गत शनिबार बिहान होस्टेलको कोठामा मृत भेटिइन्। चितवनको रत्ननगर नगरपालिका १० मा रहेको एकता शिशु निकेतन विद्यालयमा कक्षा ८ पढ्ने पोखरेल १२ गते शनिबार होस्टेलको कोठामा झुण्डिएको अवस्थामा फेला परेकी हुन्।

उनी हजुरआमाको दिदीको घर नजिकै रहेको विद्यालयमा पढ्दै आएकी थिइन्। शालिनको आमा बुवाको केही वर्षअघि सम्बन्ध विच्छेद भएपछि उनी मामाघरको हजुरआमाको साथमा रहेकी थिइन्। उनका बुवा काठमाडौं बस्ने र आमा विदेशमा रहेको पारिवारिक स्रोतले बताएको छ।

स्रोतका अनुसार रत्ननगर नगरपालिका १५ माधवपुरमा शालिनको मामाघर छ। मामाघरमा उनको हजुरआमा मात्रै छिन्। पढ्न सिकाउने मान्छे घरमा नभएपछि हजुरआमाले उनको दिदीको घर नजिकै रहेको उक्त विद्यालयमा भर्ना गरिदिएकी थिइन्। शालिनको हेरचाहमा पनि कमि नहुने र पढाईको लागि पनि समस्या नहुने भन्दै उनलाई होस्टेल राखिएको थियो।

शुक्रबार साँझसम्म जेठी हजुरआमासँग कुरा गरेर होस्टेल फर्किएकी शालिनलाई शनिबार बिहान झुण्डिएको अवस्थामा फेला पारिएको हो। शनिबार बिहान शालिनसँगै बस्ने बालिकाहरूले उनलाई मृत अवस्थामा देखेपछि रोइकराई गर्दै होस्टेल बाहिर निस्किएका थिए।

उनीहरूको कोलाहाल सुनेर विद्यालय नजिकै रहेका स्थानीयहरु पुग्दा शालिनलाई घाँटीमा डोरी लगाएर झुण्डिएको अवस्थामा फेला पारेका थिए। घँटीमा डोरी लगाएर पंखामा झुण्डिएको अवस्थामा भेटिएकी शालिनको आत्महत्या नभएर बलात्कारपछि हत्या गरेर झुण्ड्याइएको आफन्तले दाबी गरेका छन्।

सोही अनुसार पीडित आफन्तले शनिबार नै प्रहरीमा जाहेरी दिएको बताइएको छ। यता, घटना शंकास्पद रहेको रत्ननगर नगरपालिका १० का वडाध्यक्ष कलाधर पौडेलले बताए।

‘उक्त होस्टेलको ‘गर्ल्स होस्टेल’ साइटमा शालिन सहित अरु तीनजना बहिनीहरु बस्दा रहेछन्’ उनले भने, ‘केटाहरूको लागि च्यानल गेट नै छुट्टै भएको अर्को साइडमा कोठाहरू छन्। चार जना बहिनीहरु छुट्टै ठाउँमा बस्ने व्यवस्था थियो। शनिबार बिहान उनी बस्ने कोठामै पंखामा झुण्डिएको अवस्थामै फेला पारियो भन्ने खबर आएपछि हामी यहाँ आइपुगेका थियौं। घटनाबारे प्रहरीले अनुसन्धान त गर्ला तर कसरी यस्तो अवस्था आयो भन्ने कुरा शंकास्पद नै छ।’

उनका अनुसार शालिनले स्काउटको डोरी प्रयोग गरेर झुण्डिएको अवस्थामा प्रहरीले फेला पारेको थियो। शव घुँडा टेकिएको अवस्थामा फेला परेपछि पीडित आफन्तहरूले बलात्कारपछि हत्या गरेर झुण्ड्याइएको भन्दै प्रहरीमा जाहेरी दिएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी श्रीराम भण्डारीका अनुसार उक्त घटनाको अनुसन्धान गर्न तीनजनालाई पक्राउ गरिएको छ।

‘हत्या अथवा आत्महत्या के हो? भन्ने विषयमा अनुसन्धान भैइरहेको छ। विद्यालय प्रशासनदेखि होस्टेल इन्चार्जसम्म प्रहरी नियन्त्रणमा छन्। अनुसन्धान हुँदैछ,’ उनले भने।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version