काठमाडौँ: नेपालको पहिलो सुरुङमार्ग सोमबार छिचोलिँदै छ। काठमाडौं उपत्यका जोड्ने मुख्य सडकको सुरुङमार्ग ‘ब्रेक थ्रु’ हुनलागेको हो।

जलविद्युत् उत्पादन तथा पानी पथान्तरणको लागि थुप्रै सुरुङ भए पनि हालसम्म यातायातका सवारीसाधन सञ्चालन हुने सुरुङमार्ग छैनन्।

त्यसकारण यो ‘ब्रेक थ्रु’ नेपालमा सुरुङ यातायातको लागि पहिलो हुनेछ।

धादिङको सिस्ने खोलाबाट काठमाडौंको बलम्बु जोड्ने गरी निर्माण भइरहेको सुरुङमार्ग सोमबार दिउँसो साढे १२ बजे छेडिनलागेको हो।

‘सोमबार सुरुङमार्गको ब्रेक थ्रु हुँदै छ,’ नागढुंगा सुरुङमार्ग आयोजना प्रमुख नविनमान श्रेष्ठले भने, ‘दिउँसो औपचारिक रुपमा ब्रेक थ्रु गर्ने कार्यक्रम छ।’

काठमाडौं उपत्यका जोड्ने २.६ किमि लम्बाइको नागढुंगा सुरुङमार्ग एसियाली विकास बैंक (एडीबी)को सहुलियतपूर्ण ऋणसँगै नेपालको स्रोतमा निर्माण भइरहेको छ।

यो सुरुङमार्गमा २२ अर्ब ठेक्का सम्झौता भएकोमा एडीबीको करिब १६ अर्ब ऋण छ भने बाँकी नेपालको आन्तरिक स्रोत लगानी भएको छ।
सुरुङमार्गमा अब करिब १ मिटर मात्रै पूरा हुन बाँकी छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका विकास सहायता समन्वय महाशाखा प्रमुख भीमार्जुन अधिकारीले सुरुङमार्ग ब्रेक थ्रू भए पनि केही जग्गाका समस्या कायम रहेको बताए।

‘बलम्बुमा फ्लाई ओभरको जग्गा मुआब्जा र सिस्नेखोलातर्फ रिफ्रेसिङ सेन्टर निर्माणमा जग्गाको काम बाँकी छ’, अधिकारीले भने, ‘सुरुङमार्गमा कंक्रिटको काम सकिएपछि बल्ल गाडी गुड्छन्।’

नागढुंगा सुरुङमार्ग छेडिँदा करिब ५ किलोमिटर छोटो हुने सडक विभागले जनाएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version