काठमाडौँ:
विशेष अदालतले चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद सुनाएको छ।

सम्पत्ति शुद्धीकरण विभागले दायर गरेको मुद्दामा विशेषका अध्यक्ष न्यायाधीश टेकनारायण कुवँर र सदस्य न्यायाधीश रामबहादुर थापाको इजलासले २५ करोड ६९ लाख ७५ हजार जरिवाना पनि सुनाएको छ।

विभागले उनलाई १२ करोड ८४ लाख ८७ हजार बराबरको सम्पत्तिको स्रोत खुल्न नसकेको अभियोग लगाएको थियो।

उनीविरूद्ध अदालतमा ठगी मुद्दा समेत दायर भएकोले ठगी गरी कमाएको सम्पत्ति शुद्धीकरण गरेको आरोप विभागको थियो।

अदालतले विभागको माग बमोजिम बिगोको दोब्बर जरिवाना तिराएको हो।

सामाजिक संस्थाको हैसियतमा खुलेको कलेजलाई ठगेर सम्पत्ति जोडेको भन्दै विभागले न्यौपानेसहित ६ जना पूर्वसञ्चालकहरूविरूद्ध मुद्दा चलाएको थियो। अन्य छ जनाले भने सफाइ पाएका थिए।

उनीहरूले संगठित रूपमा कलेजको रकम हिनामिना गरी सिद्धार्थ बैंकमा छुट्टै खाता खोलेर अन्य बैंकबाट कलेजको रकम सारी खाता र खर्चको अभिलेख नराखी झन्डै ८ करोड रकम हिनामिना गरेको उजुरी परेको थियो।

उक्त उजुरी परेपछि विभागले २ वर्षसम्म छानबिन गरी मुद्दा चलाएको थियो।

विभागले पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई १२ करोड ४४ लाख १२ हजार ७५५, पूर्वसञ्चालक समितिका सदस्यहरू रामरत्न उपाध्यायलाई १ करोड २५ लाख ३८ हजार ६२, उपेन्द्र गौतमलाई २ करोड २९ लाख ६७ हजार २११, लबराज भट्टराईलाई २ करोड ७९ लाख ५५ हजार ६ सय, हरिप्रसाद पाण्डेलाई २ करोड ४३ लाख ४९ हजार २०७, सूर्यबहादुर केसीलाई २ करोड ३४ लाख २१ हजार ५ सय र दीपकप्रसाद भट्टराईलाई ३६ लाख ५९ हजार रुपैयाँको सम्पत्ति शुद्धीकरण गरिएको अभियोग लगाएको थियो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version