विश्वकपको तयारी खेल्न आजै राति वेस्ट इन्डिज प्रस्थान गर्ने

काठमाडौँ: पाँच खेलको टी–२० सिरिज एक खेलअगावै गुमाएको नेपाल आज (शनिबार) वेस्ट इन्डिज ‘ए’सँग अन्तिम खेल खेल्दै छ।

सिरिजअन्तर्गत दुई टोलीको अन्तिम प्रतिस्पर्धा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे सुरु हुनेछ।

आजको खेल जितेर नेपाल सुखद अन्त्य गर्न चाहन्छ। आजको खेल नेपालका लागि विश्वकपअघिको तयारी मात्र हुनेछ।

सिरिजको पहिलो खेल ४ विकेटले जिते पनि त्यसपछिका तीन खेलमा भने नेपालको लगातार हार भयो। उता वेस्ट इन्डिज ‘ए’ले भने ३ खेलमा विजय प्राप्त गर्दै ३–१ ले सिरिज आफ्ना पक्षमा पारिसकेको छ।

सिरिजअन्तर्गत वेस्ट इन्डिज ‘ए’सँग अन्तिम खेल खेलेर नेपाली क्रिकेट टोली विश्वकप खेल्न आजै राति वेस्ट इन्डिज प्रस्थान गर्नेछ।

त्यहाँ केही अभ्यास खेल खेलेर नेपाल अमेरिका प्रस्थान गर्नेछ।

विश्वकप क्रिकेट जुन २ मा सुरु हुनेछ । नेपालले जुन ४ मा नेदरल्यान्ड्ससँग खेलेर विश्वकपको सुरुवात गर्नेछ।

नेपालको समूह डी मा नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश छन्।

विश्वकप खेल्न नेपाल क्रिकेट संघ (क्यान) ले गत बुधबार नै रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरिसकेको छ भने शुक्रबार साँझ औपचारिक बिदाइ गरिसकेको छ।

टोलीमा कप्तान पौडेलसहित आशिफ शेख, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी,गुल्सन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अविनास बोहोरा, सागर ढकाल र कमलसिंह ऐरी छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version