काठमाडौँ: कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान अब नयाँ ढाँचामा निर्माण हुने भएको छ भने बहुप्रत्यक्षित फ्लड लाइट पनि नयाँ आवबाट काम अघि बढ्ने भएको छ । अबको ४/५ महिना घरेलु मैदानमा कुनै पनि अन्तर्राष्ट्रिय खेल नहुने भएकाले त्रिवि क्रिकेट मैदानको स्तरोन्नतीको काम अघि बढाउने तयारी भएको छ। यो समयलाई सदुपयोग गर्दै क्यान, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र मन्त्रालय मिलेर काम गर्दैछन्।

त्यसकै लागि बिहीबार युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ लगायत मन्त्रालय र राखेपका कर्मचारीले मैदान निरीक्षण गरेका थिए। मन्त्री श्रेष्ठ र सदस्यसचिव घिसिङलाई नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले ब्रिफिङ गराएका थिए।

अहिले मैदानको पिच मर्मतको काम भैरहेको छ। जसका लागि पुरानो माटोलाई हटाएर नयाँ माटो राख्न सुरु भैसकेको छ। क्यानले अब नोभेम्बरमा नेपाल प्रिमियर लिग गर्नेछ। त्यसपछि मात्रै डिसेम्बरमा अन्तर्राष्ट्रिय खेल हुन सक्छ।

त्रिविको स्तरोन्नती गर्दा मैदानको आकार पनि बढाइनेछ। त्रिवि मैदान अहिले पनि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको भएपनि त्यसको आकार अझै बढाइने तयारी भएको सचिव खड्काले जानकारी गराएका थिए।

मैदानमा सबै काम एकै पटक सुरु नभइ एकपछि अर्को गर्दै निमार्णको प्रक्रिया सुरु गर्ने तयारी भएको छ। त्यसका लागि प्यारापिट, शौचालय, समर्थकलाई चाहिने कुरा अनि साइड स्क्रिनलाई राखिएको छ।

मैदान निरीक्षणपछि मन्त्री श्रेष्ठले भने, ‘क्यानले बुझाएको प्रतिवेदनका अनुसार सदस्य सचिवसँगको छलफलपछि फिल्डमा नै गएर हेरौँ भन्नुभएकाले बिहीबार आएका हौँ। सबैले फरक तरिकाले सोच्नुभन्दा सबै मिलेर अघि बढौँ भनेर मिलेर काम गर्ने हो।’

नेपालको क्रिकेट विकासका लागि भारतले २० करोड रुपैयाँ सहयोग गर्दैछ। त्यो रकमलाई पनि कसरी सदूपयोग गर्ने भन्ने बारेमा क्यान र अन्य सरकारी निकाय बसेर छलफल भैरहेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version