काठमाडौं: नेपाल एपीएफ क्लवको फुटबल तथा क्रिकेट खेल प्रबर्धनको लागि अग्नि ईन्कर्पोरेटेड प्रा.लि.(महिन्द्रा)ले दुई करोड रुपैयाँ प्रायोजन गरेको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई अग्नि ईन्कर्पोरेटेड प्रा.लि.(महिन्द्रा)का प्रबन्ध निर्देशक क्याविनेट श्रेष्ठले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा असोज ७ गते आयोजित एक समारोहका बीच आगामी पाँच वर्षको लागि सो खेल प्रायोजनका लागि दुई करोड रुपैयाँको चेक हस्तान्तरण गरे ।
सोही समारोहमा सशस्त्र प्रहरी बल नेपाल केन्द्रीय खेलकुद समितिका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेल र अग्नि ईन्कर्पोरेटेड प्रा.लि.(महिन्द्रा)का कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले खेलकुद प्रायोजन सम्बन्धि सम्झौता एक आपसमा हस्तान्तरण समेत गरे ।
नेपाल एपीएफ क्लवलाई सो प्रा.लि.ले फिटवेल कम्पनीको खेलकुद पोशाक समेत हस्तान्तरण गरेको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेल, सो प्रा.लि.का क्याविनेट श्रेष्ठ र प्रा.लि.कै अर्जुनप्रसाद शर्मा तथा सुजन वैद्य श्रेष्ठ लगायतका महानुभावहरुले खेलको नयाँ पोशाक प्रदर्शन समेत गर्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले सो प्रा.लि.का प्रबन्ध निर्देशक क्याविनेट श्रेष्ठलाई सशस्त्र प्रहरी बलको तर्फबाट मायाको चिनो समेत प्रदान गरे ।
समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले कुनै पनि व्यक्तिको शारिरीक तथा मानसिक विकासको लागि खेलकुद अपरिहार्य रहेको चर्चा गर्नुहुँदै फौजी जीवन र खेलकुद गतिविधि बीच अन्योन्याश्रीत सम्बन्ध रहेको उल्लेख गरे ।
उहाँले राष्ट्रलाई परेको बेला आफ्नो तर्फबाट योगदान दिन सधैँ तम्तयार रहने सशस्त्र प्रहरी बलका राष्ट्रसेवकहरु सधैं स्वस्थ रहनुपर्ने र यसका लागि पेशागत तालिमहरुको अतिरिक्त विभिन्न विधाका खेलकुद अपरिहार्य रहने उल्लेख गरे ।
सशस्त्र प्रहरी बल नेपालले खेलकुदको माध्यमबाट समेत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा राष्ट्र र संगठनको छवी उच्च तुल्याउन सफल रहेको चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले संगठनले सीमा अपराध रोकथाम, राजस्व चुहावट नियन्त्रण, साना हातहतियार ओसार पसारमा नियन्त्रण, लागूऔषध तथा तस्करी नियन्त्रण, विभिन्न विपदहरुमा कठिन उद्वार कार्य लगायत सामाजिक सेवाका क्षेत्रहरु तथा अन्य विभिन्न जिम्मेवारीहरुमा यथेस्ट योगदान पु¥याउँदै आईरहेको बताए ।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले नेपाल एपीएफ क्लव र अग्नि ईन्कर्पाेरेटेड प्रा.लि. (महिन्द्रा) बीच भएको सो सम्झौताले आगामी दिनमा खेल जगतमा अझै बढि योगदान पुग्ने विश्वास समेत व्यक्त गरे ।

समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले स्वागत मन्तव्यको क्रममा नेपाल एपीएफ क्लवले आफ्नो स्थापना कालदेखि नै राष्ट्रको खेलकुदको बिकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आईरहेको बताए ।

बि.सं. २०६१ साल बैशाख ३१ गते स्थापना भएको नेपाल एपीएफ क्लब फुटबल, भलिबल, क्रिकेट लगायत २२ वटा खेलमा सहभागि रहेको छ । तीन वटा राष्ट्रिय प्रतियोगिता संचालन गरिरहेको क्लबले आन्तरिक प्रतियोगिताहरु समेत संचालन गरिरहेको छ ।

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा आफ्नो सहभागिता जनाउँदै आएको एपीएफ क्लवले हालसम्म अन्तर्राष्ट्रिय स्तरमा ५२ स्वर्ण, ३४ रजत र ३५ कास्य पदकहरु तथा राष्ट्रियस्तरमा ८ सय ४८ स्वर्ण, ७ सय २६ रजत र ७ सय २२ कास्य पदक गरी कूल २ हजार ४ सय १७ पदक जित्न सफल रहेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version