काठमाडौँ: नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीबाट यसपालि सरकारमा मन्त्री पठाउँदा सबैको प्रतिनिधित्व हुने गरी पठाउनुपर्ने बताएका छन्।

यसअघिको सरकारमा पार्टीले ९ जना मन्त्री पठाए पनि दलित, थारू, मधेसीलाई स्थान नदिएकोले यसपटक समावेश गरिनुपर्ने उनले बताए।

‘योभन्दा अघिल्लो पटक ९ जना मन्त्री कांग्रेसबाट सरकारमा थिए। तर एउटा दलित, थारू र मधेसी गएन,’ इटहरीमा बिहीबार भएको कार्यक्रममा बोल्दै थापाले भने, ‘मन्त्रीमा दलित, थारू, मधेसी पठाएनौं। कहिले पठायौं भन्दा २०१५ सालमा पठाएको हो नि! २०८१ मा पठाउनुपर्‍यो नि!’

उनले पार्टीभित्र भाग पुर्‍याउने नाममा पटक-पटक मन्त्री बनेकाहरूलाई यसपटक अवसर दिन नहुने बताए।

‘समावेशीसँगै परिणाम दिन सक्नेलाई मन्त्री बनाउनुपर्छ,’ उनले भने, ‘पटक-पटक मन्त्री भएकाहरूलाई यसपटक विश्राम दिनुपर्छ, घरमै राखे हुन्छ।’

फरक प्रसंगमा थापाले अहिले कांग्रेस र एमाले एकठाउँमा आउने अवस्था बनेको बताए। प्रचण्डले धेरै चकचक गरेकोले एमाले र कांग्रेस सरकारमा सँगै बस्ने अवस्था आएको थापाको भनाइ छ।

गत असार १७ गते कांग्रेस र एमालेबीच सरकार बनाउने र संविधान संशोधन गर्नेजस्ता विषयमा सहमति बनेको थियो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version