काठमाडौँ: जनताको घर तथा बस्ती डुबानमा पर्दा जोखिममुक्त बनाउने स्थानीय सरकार काठमाडौँ महानगरपालिका आफैँ डुबानमा परेको छ।

बुधबार रातिको अविरल वर्षाका कारण राष्ट्रिय सभा गृह डुबानमा परेको हो। राष्ट्रिय सभा गृहमा काठमाडौं महानगरपालिकाका प्रमुख र उपप्रमुखको कार्यालय रहेको छ।

सभागृहभित्र राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाउने स्थान, मेट्रो एफएम, नगर प्रहरी सुरक्षा कक्ष जलमग्न भएका छन्।

केही दिनअघि वर्षाका कारण काठमाडौंको बागमती, विष्णुमती तथा धोबीखोला आसपासका क्षेत्र डुबेका थिए। त्यसबेला महानगर प्रमुख बालेन्द्र शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीका बिरुद्ध सामाजिक सञ्जालमा आक्रोश पोखेका थिए।

हरेक वर्षायाममा घण्टाघर र रत्नपार्कदेखिको पानीको भेल प्रदर्शनीमार्गको नाला हुँदै टुकुचा खोलामा जाने गर्थ्यो। तर यस वर्ष सभागृहको गेटदेखि टुकुचासम्मको पैदलमार्ग फराकिलो बनाउने क्रममा नाला विस्थापित गरी ह्युम पाइप बिछ्याएको छ।

त्यस्तै सभागृहको पानी निकासको ढल पुलिस क्लबतर्फबाट टुकुचासम्म लगिएको थियो। अहिले महानगर आफैँले सभागृह पुनःनिर्माण गर्दा पश्चिमतर्फको ढलको मंगालको निर्माण गरेको तर निकास नबनाएको कारण सभागृह डुबानमा परेको स्थानीय बताउँछन्।

सभागृह डुबानमा परेपछि मेट्रो एफएम प्रसारणसमेत प्रभावित बनेको छ। त्यस्तै राष्ट्रिय परिचय पत्र बनाउन आउने सेवाग्राही बिहानैदेखि जलमग्न स्थानमै लायन बसिरहेको देख्न सकिन्छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version