काठमाडौँ:
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको पूर्ण पाठ पाटन उच्च अदालतले सार्वजनिक गरेको छ।

उच्च अदालतले गौशाला–२६ लाई बालिग (१८ वर्ष पुगेको) ठहर गर्दै सन्दीप लामिछानेसँग भएका सम्पूर्ण घटनाक्रम आपसी सहमतिमै भएको पूर्ण पाठमा उल्लेख गरेको छ।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासबाट गत जेठ २ गते भएको फैसलाको पूर्ण पाठमा पीडित भनिएकी किशोरी आफै सन्दीपको गाडीमा चढ्न गएकी, २ महिनापछि विदेशबाट फर्किँदा भेटौँला भन्दा पनि नमानेकी, राति अबेरसम्म नगरकोट घुम्न गएकी, पहिला होस्टल जुनसुकै बेला खुला हुन्छ भने पनि काठमाडौँ आइसकेपछि राति खुला हुँदैन भनेकी, होटलमा कुनै झै–झगडा वा मनमुटावको संकेत नदेखाएकी लगायत तर्क गरिएको छ।

‘पीडित आफैले प्रतिवादीलाई फ्रेन्ड रिक्वेस्ट पठाएको, प्रतिवादी (सन्दीप)लाई स्न्याप च्याटमार्फत फोटोहरू पठाउने गरेको, प्रतिवादीले आफू क्रिकेट खेल्न विदेश गई २ महिनापछि फर्केर आई भेट्छुभन्दा पीडितले मलाई सहयोग गर्नुपर्यो भनेर तुरुन्तै भेट्न चाहेको, प्रतिवादीले गाडी लिएर आउँदा स्वस्फूर्तरूपमा गाडीमा गई बसेको, नगरकोट जाँदा समेत पीडितले कुनै प्रतिकार नगरेको,’ फैसलामा लेखिएको छ, ‘प्रतिवादीले नगरकोटबाट पीडितलाई चाँडै जाउँ तिम्रो होस्टेल बन्द हुन्छ भन्दा होस्टेल जुनसुकै बखत पनि खुल्ला हुन्छ भनी विश्वास दिलाएको, नगरकोटको होटेल प्रतिवादीले बुक गराएको भन्ने तथ्य पुष्टि नभएको र पछि आउँदा मेरो होस्टेल बन्द भइसकेको भनेकोले प्रतिवादीले म तिमीलाई एउटा होटलमा एउटा कोठा लिइदिन्छु, म क्लोज क्याम्प रहेको होटलमा साथीहरूसँग बस्न जानुपर्छ भन्दा नमानी आफूलाई एक्लै नछोड्नू भनी जिकिर गरेको, दुवै जना स्वस्फूर्तरूपमा नगरकोटको वोजिनी होटलबाट काठमाडौं फर्केको, होटल काठमाडौं इनमा दुवै जना बसेको, होटल प्रवेश गरेदेखि होटलबाट निस्केको बखतसम्म पीडित र प्रतिवादीबीच कुनै झगडा मनमुटाव नभई पीडितले सहमति बमोजिम नै सम्पूर्ण घटनाक्रम भएको तथ्यलाई अन्यथा मान्नुपर्ने देखिँदैन।’

काठमाडौँ जिल्ला अदालतले गौशाला–२६ बालिग (१८ वर्ष पुगेकी) नै भए पनि उनीहरूबीच भएको भनिएको करणीलाई सहमतिको सम्बन्ध मान्न नसकिने फैसला गरेको थियो।

सन्दीपले आफ्नो व्यक्तिको प्रभाव र आर्थिक सहयोगको प्रलोभनमा पारेर ती किशोरीलाई करणी गरेकाले त्यो बलात्कार ठहर्ने जिल्ला अदालतको फैसला थियो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version