काठमाडौँ: प्रधानसेनापति प्रभुराम शर्माले निर्माणधीन काठमाडौँ–तराई द्रुतमार्गको कामलाई ललितपुरको खोकनामा भएको राजनीतिले बिगारेको टिप्पणी गरेका छन्।

सोमबार सोही द्रुतमार्गअन्तर्गत धेद्रे सुरुङ मार्ग ब्रेक थ्रु कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानसेनापति शर्माले यस्तो बताएका हुन्। साथै, उनले विसं २०८३ सालसम्म काम पूरा गरिसक्ने पनि बताए।

‘ललितपुरको खोकनामा राजनीतिले (द्रुतमार्गको काम) बिगारेको छ, राजनीतिले नै सपार्नु पर्छ समय लागेको छ,’ शर्माले भने, ‘ठेक्का लाग्न पाएको छैन साढे ६ किलोमिटर। हामी राजनीति नगर्ने भए पनि हामी कुरा बुझ्छौँ।’

उनले विसं २०७६ सालबाट सुरु भएको उल्लेख गर्दै ०८३ सम्म पूरा गर्ने पनि बताए। ‘२०८३ सम्ममा पूरा गर्छौं । हामीले २०७६ सालबाट सुरु गरेको हो।’

प्रधानमन्त्री केपी शर्मा ओलीले निजगढतर्फ जाने १७२८ मिटर लामो धेद्रे सुरुङ मार्गको सुरुङ सोमबार ब्रेक थ्रुको घोषणा गरेका छन्।

यो सुरुङ चीनको पोलि छ्याङ्दा कम्पनीले निर्माण गरिरहेको छ।

यो आयोजनाको समष्टिगत प्रगति भने ३५.३८ प्रतिशत पुगेको सेनाले जनाएको छ।

२१ वैशाख २०७४ को निर्णय अनुसार काठमाडौँ तराई द्रुत मार्ग निर्माण व्यवस्थापनको जिम्मा नेपाली सेनालाइ दिएको हो।

जसलाई सेनाले विभिन्न प्याकेजमा ठेक्का लगाएर काम गरिरहेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version