नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बाहिरबाटै सहकारी रकम ठगी गरेको पुष्टि भएको बताएका छन्।

सहकारी भित्र बसेर भन्दा पनि बढी रकम बाहिरबाटै ठगी गरेको संसदीय छानबिन समितिको प्रतिवेदनले स्पष्ट देखाएको उनको दाबी थियो।

बुधवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले लामिछानेले आफूहरुले सोचेभन्दा धेरै करिब ६५ करोड ठगी गरेको पनि संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा उल्लेख गरिएको बताए।

उनले भने, ‘सहकारी कानूनमा दफा १२२ ले के भन्छ भने सहकारीमा ठग्ने मानिसहरु दुई खालका छन्। एउटा आफैँ सहकारीमा बस्छ। सहकारीलाई ठग्छ। एउटा आफू सहकारीमा बस्दैन। बाहिर बस्छ। तर विभिन्न माध्यामबाट सहकारीलाई ठग्छ। त्यसैले सहकारीमा बसेर ठग्नेहरु पनि ठग नै हुन्। तर आफू सहकारीमा बस्दैनन, बाहिर बस्छन्। कम्पनीमा बस्छन् वा केहीमा बस्छन्। तर सहकारीबाट पैसा लिएर जान्छन्, त्यो पनि ठग नै हो भनेर त्यो दफाले सहकारीमा बसेर पैसा दिने मात्रै होइन है, सहकारीको पैसा लिने पनि ठग हो। सहकारीमा बसेर ठग्नेहरु भन्दा पनि नबसेर ठग्नेहरु धेरै हुँदा रहेछन्।’

उनले सो विशेष समितिमा रहेका रास्वपाका सांसद शिशिर खनालले लामिछानेले सहकारीमा ठगी गरेको स्वीकार गर्दै सो प्रतिवेदनमा हस्ताक्षर गरेर पनि बाहिर आएको क्लिन चिट पाएको भनेर छट्टु कुरा गरेको बताए।

महामन्त्री थापाले पार्टी उपसभापति धनराज गुरुङमाथि पनि सहकारी ठगीको आक्षेप लागेको र त्यसको तथ्य पत्ता लगाउनका लागि आफूहरुले सरकारलाई भनेको पनि स्पष्ट पारे।

उनले भने, ‘हाम्रै पार्टीका उपसभापतिबारे पनि सोधेको थिएँ। उहाँ आफैँले संसदको रोष्टममा उभिएर भन्नुभएको छ–क ममाथि अनुसन्धान होस्। सरकारले यसबारेमा थप अनुसन्धान गरोस्, गर्नुपर्छ।’

महामन्त्री थापाले संसदीय छानबिन विशेष समितिले बुझाएको सो प्रतिवेदनलाई सरकारले कार्यान्वयनमा लैजाने विश्वास समेत व्यक्त गरे।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version