काठमाडौँ: नेपालीको महान् चाड दशैँका लागि टिकट खुलेसँगै उपत्यकाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुको सुविधालाई मध्यनजर गरी उपत्यकाका १३ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको हो ।
दशैँ मान्न उपत्यकाबाट झण्डै २५ लाख मानिस बाहिरिने हुँदा यात्रुको सहायताका लागि उक्त कक्ष स्थापना गरिएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कलङ्की, स्वयम्भू, नयाँ बसपार्क, सातदोबाटो, गौशाला, चाबहिल, बल्खु, दक्षिणकाली, कोटेश्वर, सुन्धारा, नयाँ बानेश्वर, पुरानो बसपार्क, नागढुङ्गा र जगातीमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले स्थापना गरिएको सहायता कक्षमा अपराध, दुव्र्यवहार, यात्रुले भोग्नुपरेका समस्या राख्न सकिने बताए। सहायता कक्षमा यातायात व्यवस्था विभागका कर्मचारी, यातायात व्यवसायी संघका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, ट्राफिक प्रहरी र जनपद प्रहरीका कर्मचारीहरु रहनेछन् ।
अनाथ बालबालिकालाई भोजन
नेपाल गृर्हस्थ धर्म सेवा सदनले अनाथ तथा असाहय बालबालिकालाई भोजन तथा प्रसाद वितरण गरेको छ । सदनले सोह्रश्राद्ध, दिवङ्गत पितृ तथा मातृशक्तिको स्मृतिमा सामाखुशीमा ५० बालबालिकालाई प्रसाद तथा भोजन वितरण गरेको हो ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले जीवनलाई सार्थक बनाउन गृहस्थ धर्मले महत्वपूर्ण भूमिका खेलेको बताए । “असल गृहस्थी भए समाज र राष्ट्र समृद्ध हुन्छ,”–उनले भने। नेता केसीले पितृ ऋण, सन्तान ऋण र राष्ट्र ऋण पूरा गर्न सके जीवनको सार्थकता पूरा हुने उल्लेख गरे ।
काठमाडौँ क्षेत्र नं ६ का सांसद एवं पूर्वमन्त्री भीमसेनदास प्रधानले मानव सेवा गर्नु नै धर्म भएको बताउनुभयो । “मन्दिरमा गएर मात्र धर्म मिल्दैन, दिन दुःखी, असाहय, गरीबको सेवा गर्नु धर्म हो,” उनले भने। काठमाडौँ महानगरपालिका–२६ का वडा अध्यक्ष ख्यामराज तिवारीले गरीब, दुःखी र असाहयका लागि वडाले विशेष कार्यक्रम सञ्चालन गर्न लागेको बताए ।
एक दशक पहिले स्थापना भएको सदनले गरीब, दुःखी, वृद्धवृद्धालाई सहयोग तथा सामाजिक काम गर्दै आइरहको सदनका अध्यक्ष तुलसीराम पोखरेलले जानकारी दिए।
