काठमाडौँ: दक्षिण एसियामा पहिलोपटक त्रिदेशीय विद्युत् व्यापार सुरु भएको छ।
दक्षिण एसियाली मुलुकमा दुईपक्षीय विद्युत् व्यापार भइराखेकामा पहिलोपटक त्रिदेशीय व्यापार सुरु भएको हो।
दक्षिण एसियामै नेपाल–भारत, बंगलादेश–भारत, भुटान–भारतबीच ऊर्जा व्यापार भइरहेको थियो। जलविद्युतमा बढी सम्भावना भएको नेपालबाट भारत र बंगलादेश निर्यात सुरु भएको छ। यो वर्ष सांकेतिक रुपमा १ दिन मात्रै निर्यात भए पनि असारदेखि कात्तिकसम्म हरेक वर्ष निर्यात हुनेछ।
भूपरिवेष्ठित राष्ट्र नेपालले भारतीय पूर्वाधार प्रयोग गर्दै बंगलादेशमा विद्युत् निर्यात गरेको छ। ऊर्जा मन्त्रालयको आयोजनामा परराष्ट्र मन्त्रालयमा भएको भर्चुअल उद्घाटन समारोहमा नेपालतर्फ ऊर्जामन्त्री दीपक खड्का, विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायत सहभागी थिए। तीनै देशका ऊर्जामन्त्रीले संयुक्त रुपमा निर्यातको उद्घाटन गरेका हुन्।
नेपालका लागि ऐतिहासिक दिन : मन्त्री खड्का
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्काले नेपालबाट ४० मेगावाट विद्युत् निर्यातलाई ऐतिहासिक दिन भनेका छन्। दक्षिण एसियामा अन्तर्देशीय विद्युत् व्यापारको दीर्घकालीन सुरुवात भएको उनको भनाइ छ।
‘३ देशबीच विद्युत् व्यापार मात्र नभई ऊर्जा सुरक्षा, आर्थिक वृद्धिदर र दीगो वातावरणीय सुरक्षाका लागि महत्त्वपूर्ण विषय हो’, मन्त्री खड्काले भने, ‘यसले नवीकरणीय ऊर्जा विस्तार र क्षेत्रीय व्यापारको सुरुवात भएको छ।’
उनले आगामी दिनमा सहकार्य र समझदारीसँगै अघि बढ्ने बताए।
नेपालबाट निर्यात गरिएको बिजुली मुजफ्फरपुरदेखि भारतको प्रसारणलाइनमार्फत बेहरामपुर–भेडामारा ४०० केभी प्रसारणलाइनबाट बंगलादेश पुग्नेछ। विद्युत् प्राधिकरणका अनुसार ५ वर्षको लागि निर्यात सम्झौता भएको छ।
‘यो कोशेढुङ्गा दक्षिण एसियामा दिगो र अन्तर्सम्बन्धित ऊर्जा भविष्यको लागि साझा दृष्टिकोणको प्रतिविम्ब हो’, मन्त्री खड्काले भने।
नेपालले बंगलादेशलाई ६.४ अमेरिकी सेन्टमा प्रतियुनिट बिक्री गर्ने हस्ताक्षर भएको छ। नेपालको बिजुली बंगलादेश पुर्याउन भारतीय विद्युत् व्यापार कम्पनी एनभीभीएनको भूमिका छ। त्रिपक्षीय सम्झौताअनुसार जुन १५ देखि नोभेम्बर १५ सम्म नेपालले बंगलादेश निर्यात गर्नेछ।
बंगलादेशको लागि कोशेढुंगा : बंगलादेशी मन्त्री
बंगलादेशका पावर डिभिजन सल्लाहकार (ऊर्जामन्त्री) मोहम्मद फोजुल कबिर खानले भारतीय प्रसारणलाइन प्रयोग गर्दै नेपालबाट ४० मेगावाट आयात गर्नु बंगलादेशको लागि कोशेढुंगा रहेको बताए।
‘क्षेत्रीय सहकार्यले दिगो भविष्यको लागि सहयोग पुग्छ’, खानले भने, ‘४० मेगावाटको क्षेत्रीय विद्युत् व्यापारले दीगो समृद्धिमा टेवा पुग्छ।’
त्रिदेशीय व्यापार दक्षिण एसियामा पहिलोपटक : भारत
भारतका ऊर्जामन्त्री मनोहर लालले नेपालले भारतमा २०२२ बाट निर्यात थाले पनि त्रिदेशीय व्यापार दक्षिण एसियामा पहिलोपटक सुरुवात भएको बताए।
त्रिदेशीय व्यापारले ऊर्जा क्षेत्रमा लगानीको वातावरण बनाउने विश्वास व्यक्त गरे।
अपर कर्णाली परियोजनाको लागि भारतले लगानी गर्न लागेको बताए। सतलज जलविद्युत् निगमको नेतृत्वमा लगानी हुनथालेको जानकारी दिए। अरुण क्षेत्र र कर्णाली बेसिनका आयोजनामा भारतीय लगानीले नेपाल र भारतबीच विद्युत् व्यापारमा ठूलो महत्त्व राख्ने बताए।
‘पहिलो त्रिदेशीय विद्युत् व्यापारमा भारतको प्रसारणलाइन प्रयोग भएको छ’, निर्यातपछि भारतले धारणा सार्वजनिक गर्दै भनेको छ, ‘क्षेत्रीय विद्युत् व्यापारमा प्रसारणलाइनमार्फत सघाउन भारत सधैं तयार छ।’
ऊर्जासचिव सुरेश आचार्यले असोजको सम्झौता कार्यान्वयन भई वास्तविकतामा देखिन थालेको बताए।
‘प्राविधिक रुपमा सफल मात्रै नभई त्रिदेशीय सहकार्य सुरु भएको छ’, आचार्यले भने, ‘३ देशबीच फराकिलो सहकार्यको सम्भावना बढाएको छ।’
अर्थतन्त्र तीव्र गतिमा अघि बढेको बंगलादेशलाई विद्युतको आवश्यकता पनि बढिरहेको छ। नेपालले ३ देशको समझदारीअनुसार व्यापार गर्छ।
‘दक्षिण एसियामा पहिलो पटक त्रिदेशीय व्यापार सुरु भएको हो’, ऊर्जा मन्त्रालयमा ऊर्जा महाशाखा प्रमुख चिरञ्जीवी चटौतले भने, ‘३ देशका प्रसारणलाइन तयार भएकाले निर्यात गर्न सम्भव भएको हो।’
भारतबाट बंगलादेशमा विद्युत् निर्यात हुने गरेको छ। बेहरामपुर–भेडामारा ४०० केभीको प्रसारणलाइनबाट थप विद्युत् पठाउन सकिने अवस्था नरहेको उनी बताउँछन्।
‘अहिलेको पूर्वाधार अनुसार ४० मेगावाट मात्रै विद्युत् पठाउन सक्छौँ। अब भारत र बंगलादेशले दुई देशका प्रसारणलाइनको क्षमता बढाउनुपर्छ’, चटौतले भने, ‘नेपालबाट भारतमा ४०० केभीका थप प्रसारणलाइन बनेजस्तै भारत र बंगलादेशबीच बढ्नुपर्छ।’
यो वर्षको लागि सांकेतिक निर्यात भए पनि नेपालमा भारत र बंगलादेशका लगानी ल्याउने वातावरण सिर्जना भएको बताउँछन्।
नेपालले २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ। भारतले विभिन्न ठूलो आयोजनामा चासो देखाए पनि अरुणबाहेक अरुमा लगानी आउनसकेको छैन। बंगलादेशले सुनकोशी नदीमा लगानी गर्ने बताए पनि मोडालिटी तय भएको छैन।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)का अध्यक्ष गणेश कार्कीले हालसम्म निर्यातको कुरा मात्र भए पनि शुक्रबार यथार्थमा परिणत भएको बताए।
उनले भने, ‘तेस्रो देशमा नेपालबाट बिजुली निर्यात गर्न सकिन्छ भन्ने देखियो। यसले भारत र बंगलादेशले मात्र नभई अरु देशले पनि नेपालका जलविद्युत् आयोजनामा लगानी गर्नसक्ने वातावरण बनेको छ।’
बंगलादेशलाई २०३९ सम्म ९ हजार मेगावाट बिजुली चाहिने उनको भनाइ छ। त्यसका लागि नेपालका जलविद्युत् आयोजनामा लगानीसँगै डेडिकेटेड प्रसारणलाइन बनाउनुपर्ने विषयमा समेत बंगलादेशले जोड दिएको उनको भनाइ छ।

