काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी प्रदान गरेका छन् ।
राष्ट्रपति निवास शीतलनिवासमा आयोजित समारोहकाबीच सेनापति द्विवेदीलाई द्विवेदीलाई नेपाली सेनाका परमाधिपति समेत रहेका राष्ट्रपति पौडेलले उक्त दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
।
सो समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षा मन्त्री मानवीर राईलगायत विशिष्टहरुको उपस्थिति रहेको थियो ।
भारतीय स्थल सेनाका सेनाध्यक्ष द्विवेदी बुधबार नेपाल आएका हुन् ।
नेपाल–भारतबीचको सैनिक सम्बन्धको निरन्तरता स्वरुप दुवै देशले दुवै देशका प्रधानसेनापतिलाई मानार्थ सेनापतिको दर्जा प्रदान गर्ने परम्परा रहिआएको छ ।
भोलि प्रधानमन्त्री केपी ओली र रक्षामन्त्री मानवीर राईसँग उनले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
सन् १९५० देखि नेपाल र भारतबीच एक–अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा छ । यसअघि भारतका राष्ट्रपति रामनाथ कोविन्दले नेपालका तत्कालीन प्रधानसेनापति प्रभुराम शर्मालाई २०७८ कात्तिक २४ गते भारतीय स्थलसेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गरेका थिए ।
त्यस्तै भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ भदौ २० गते नेपाली सेनाको मानार्थ महारथी पद प्रदान गरेका थिए । सन् १९५० मा भारतका सेनाध्यक्ष जनरल केएम परिअप्पालाई पहिलो पटक नेपाली सेनाको मानार्थ महारथी प्रदान गरिएको थियो भने २०२६ सालमा तत्कालीन प्रधानसेनापति सुरेन्द्रबहादुर शाहलाई पनि पहिलो पटक भारतीय सेनाको मानार्थ महारथीबाट सुशोभित गरिएको थियो ।
छिमेकी देशका सेनाबीचको यस्तो सम्मान परम्पराले सम्बन्धलाई सुमधुर तुल्याउन र सौहार्दता कायम राख्न एउटा महत्वपूर्ण कडीका रुपमा भूमिका खेल्ने विश्वास गरिएको छ । प्रधान सेनापति सिग्देलको औपचारिक निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष द्विवेदी पाँच दिवसीय नेपाल भ्रमणका क्रममा बुधबार अपराह्न काठमाडौँ आएका हुन् ।

