चितवन : चितवन चितवन व्राण्डका रुपमा स्थापित चितवन हात्ती तया पर्यटन महोत्सव २०८१ यहि पुस ११ देखि १५ गते सम्म हुने भएको छ । समग्र चितवनको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यसहित हरेक वर्ष जस्तै यो पटक पनि १८ औँ संस्करणको चितवन हात्ती तया पर्यटन महोत्सव गर्न लागेको महोत्सवका संयोजक रामकुमार आर्यालले जानकारी दिनुभयो ।
महोत्सवको १८औं संस्करण बाघमारा मध्यवर्ती सामुदायिक वनको चैरमा हुने आयोजक क्षेत्रिय होटल संघ चितवनले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी पर्यटन महोत्सवको उद्देश्य र तयारीको बारेमा जानकारी दिएको हो ।
सौराहासहित समग्र चितवनको पर्यटन विकासमा नयाँ आयाम थप्ने महोत्सवको राष्ट्रपति रामचन्द्र पौडेलबाट समुद्घाटन हुने संघका अध्यक्ष गंगा गिरीले जानकारी गराउनुभयो ।
विश्व सम्पदामा सुचीमा सूचिकृत नेपालकै पहिलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुन्जको काखमा अवस्थित देशकै प्रमुख पर्यटकीय गन्तव्य मध्ये चितवन सौराहा जैविक विविधता तथा वन्यजन्तुको पर्यटकीय राजधानीको रुपमा प्रख्यात राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा समेत परिचित रहेको क्षेत्रलाई रत्ननगर नगरपालिकाको संरक्षकत्वमा, क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजना, यूनाईटेड हात्ती संचालन सहकारी संस्था लि.र रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपालको सह–आयोजनामा महोत्सव गर्न लागिएको हो ।
५० वर्षको इतिहास बोकेको चितवनको पर्यटनलाई स्थापित गर्न राष्ट्रपति पौडेलबाट चितवनलाई जैविक विविधता तथा वन्यजन्तुको पर्यटकीय राजधानी घोषणा गर्ने तयारी गरिएको पर्यटन महोत्सवका संयोजक रामकुमार आर्यालले बताउनुभयो। आवश्यक प्रक्रिया पुरा गरी हात्ती तथा पर्यटन महोत्सवको उद्घाटन समारोहका बीच जिल्लालाई जैविक विविधता तथा वन्यजन्तुको पर्यटकीय राजधानी घोषणा गर्ने उहाँले बताउनुभयो।
सौराहामा दुई दशक अघि देखि आयोजना गर्दै आएको यस महोत्सवले सौराहा सहित चितवनमा पर्यटक आगमनमा वृद्धि गर्न सफल भएको र गन्तव्यलाई विश्वसामु परिचित गराउन थप योगदान गरेको भन्दै संघका महासचिव गुणराज थपलियाले महोत्सवको कारण हरेक वर्ष २५ देखि ३० प्रतिशत पर्यटकहरुको आगमनमा वृद्धि हुने गरेको बताउनुभयो । महोत्सवमा हुने गतिविधिले पर्यटन विकासको अलवा हात्तीको महत्व समेत उजागर गर्दै आएको छ । अन्तराष्ट्रिय स्तरमा महत्व राख्ने चितवन हात्ती तथा पर्यटन महोत्सवको आफ्नै गौरवशाली इतिहास रहेको छ ।
चितवन राष्ट्रिय निकुन्जको माध्यमबाट पर्यटकहरुलाई आकर्षित गराउदै चितवनको पर्यटन क्षेत्रलाई महत्वपूर्ण गन्तव्य स्थलको रुपमा चिनाउन समेत यस महोत्सवको अभिप्राय रहेको छ । हात्ती महोत्सव अन्तर्गत जैविक विविधता तथा वन्यजन्तुको पर्यटकीय राजधानी घोषणा तथा स्तम्भ अनावरण, हात्तीको श्रृंगार प्रतियोगिता, हात्ती वनभोज, हात्तीमैत्री फुटवल पेनाल्टी प्रतियोगिता, हात्तीमैत्री म्यूजिकल वाक विशेष आर्कषण रहेका छन् ।
यस्तै महोत्सवमा हात्तीको स्वास्थ्य परीक्षण शिविर, पालिका स्तरीय डुंगोदौड प्रतियोगिता, स्वदेशी तथा विदेशी टुर एण्ड ट्राभल एजेन्सीहरुसंग विटुवि गोष्ठी, चितवनमा पर्यटनको सम्भावना हिजो र आज विषयक अन्तक्रिया कार्यक्रम, स्थानीय भेषभुषा तथा कला संस्कृति सहित झाँकी प्रदर्शन, महिला उद्यमी तथा स्थानीय कृषि उत्पादनको प्रवर्धन समाबेश गरिएको संघका सचिव महेश खनालले जानकारी दिनुभयो । महोत्सव अन्तर्गत हुने उल्लेखित विभिन्न गतिविधिमा सरकारी र निजी गरी करीब ८० वटा हात्ती सहभागी उहाँको भनाई थियो ।
हात्ती तथा पर्यटन महोत्सवको अवसरमा व्यवसायीहरुले पौष १० देखि १६ गते सम्म क्षेत्रीय होटल संघ नेपाल र रेवान सौराहामा आवद्ध संदस्यहरुको होटल तथा रेष्टुरेण्टमा खाना र आवासमा १० प्रतिशत छुटको व्यवस्था गरेका छन् ।
रत्ननगर नगरपालिका वडा नं ७ का वडाध्यक्ष सजना महतो प्रमुख अतिथि रहेको सो कार्यक्रममा वडा नं ६ का वडाध्यक्ष किरण चौधरी, मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरे, रेवान सौराहाका अध्यक्ष ध्रुव गिरी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

