काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विद्यालयमा स्वास्थ्य सचेतना फैलाउनका लागि विद्यालय स्वास्थ्य दूत नियुक्त गर्ने निर्णय गरेका छन् । विद्यालय नर्स कार्यक्रम लागू भैरहेका विद्यालयमा स्वास्थ्य प्रबद्र्धनात्मक विद्यालय र विद्यालय स्वास्थ्य दूतसमेत रहने गरी मन्त्री पौडेलले विद्यालय स्वास्थ्य सेवा तथा नर्सिङ कार्यक्रम सञ्चालन निर्देशिकालाई परिमार्जन गरी नयाँ निर्देशिका स्वीकृत गरेका छन् ।
अब विद्यालय नर्सिङ कार्यक्रम लागू भएका विद्यालयमा कक्षा ७ र ८ मा अध्ययनरत विद्यार्थीले स्वास्थ्य दूतका रुपमा स्वास्थ्यसम्बन्धी आधारभूत जानकारी तथा स्वास्थ्य सजगतासम्बन्धी जानकारी फैलाउन विद्यालय नर्सलाई सघाउनेछन् । यसैगरी, नियमित खोप कार्यक्रम तथा अन्य सचेतनामूलक कार्यक्रममासमेत विद्यालय स्वास्थ्य दूतलाई उपयोग गर्ने गरी मन्त्रालयले निर्देशिका परिमार्जन गरेको हो । विद्यालय स्वास्थ्य दूतलाई मन्त्रालयले दूतको परिचय र ब्याचका अलावा आवश्यक स्वास्थ्य जानकारीमूलक सामग्री पठाउनेछ ।
हाल देशका सातै प्रदेशका एक हजार तीन सय ८६ विद्यालयमा कार्यक्रम लागू भैरहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले रोग निरोधात्मक कार्यक्रमका लागि विद्यालयलाई समेत सहभागी गराउने गत साउन २७ गते योजना तथा कार्यक्रममा घोषणा गरेका थिए । सोही कुरालाई मद्दत मिल्ने गरी हाल निर्देशिका परिमार्जन गरेर विद्यालय स्वास्थ्य दूत थप्न लागिएको हो ।
पाँच सय विद्यार्थी भएका विद्यालयमा एक छात्र र एक छात्रा स्वास्थ्य दूत बन्नेछन् । उनीहरुलाई मन्त्रालयको नर्सिङ महाशाखामार्फत स्थानीय तह र विद्यालयका नर्सहरुले सचतेनामूलक कार्यक्रममा सहभागी र नेतृत्व दिलाउनेछन् । हामीलै नागरिकको स्वास्थ्य सुधार गर्न बालबालिका तहबाटै काम हुनुपर्छ भनेर यस्तो व्यवस्था गरेका हौं, मन्त्री पौडेलले भने, यसले बालबालिका र उनीहरुमार्फत समुदायको स्वास्थ्य जानकारी वृद्धि हुने अपेक्षा गरेका छौं ।
मन्त्रालयले यस वर्ष प्रयोगका रुपमा लागू गर्ने र अगामी वर्ष बजेटमा व्यवस्था गरेर कार्यक्रमलाई थप प्रभावकारी बनाउने प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए । विद्यालयमार्फत सचेतना थप प्रभावकारी हुन्छ भन्ने मन्त्रीज्यूको विश्वास छ, उनले भने, त्यसैलाई आधार मानेर नयाँ व्यवस्था गरिएको हो ।
अहिले विद्यालय नर्स कार्यक्रमका लागि संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश र स्थानीय सरकारसँग सहकार्य गरिरहेको छ । तीनवटै तह मिलेर बालबालिकाको तहसम्म सचेतना फैलउने काम गर्दा प्रभावकारी हुने विश्वासका साथ मन्त्री पौडेलले विद्यालय दूत कार्यक्रम अघि बढाएको उनको निजी सचिवालयले जनाएको छ ।
Trending
- नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
- यस्ता छन् आगामी बजेटको प्राथमिकता (पूर्ण पाठ)
- शोधनान्तर स्थिति सात खर्ब ३१ अर्बले बचतमा, नौ महिनामा साढे १६ खर्ब बढी विप्रेषण भित्रियो
- सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
- सरकारको नीति तथा कार्यक्रम: सीमारहित अर्थतन्त्र र तौलरहित व्यापार
- संघीय संसद्को बजेट अधिवेशन आजदेखि, नीति तथा कार्यक्रम पनि आजै प्रस्तुत हुने
- टर्किस एयरलाइन्समा आगलागीपछि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल खुल्यो
- इस्तानबुलबाट आएको टर्किस एयरको जहाजमा आगलागी, सबै यात्रु सुरक्षित

