काठमाडौँ: नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले समाजलाई विभाजित हुने किसिमका अभिव्यक्ति राजनीतिक नेतृत्वले दिनु नहुने बताएका छन्।

शुक्रबार काठमाडौंमा पत्रकार महासंघले गरेको कार्यक्रममा बोल्दै बर्तौलाले नेताहरूको अभिव्यक्ति, व्यवहार र कार्यशैली समाजलाई विभाजित गर्ने खालका हुनु नहुने बताएका हुन्।

उक्त कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी थिए।

‘संसदीय राजनीतिमा हामी भर्खर नर्सरीका विद्यार्थी हौं। सम्माननीय पूर्वप्रधानमन्त्रीज्यू यहीँ हुनुहुन्छ, हामीलाई यसो लाग्छ, कहिलेकाहीँ नेताहरूको अभिव्यक्ति, नेताहरूले गरेका व्यवहार, कार्यशैलीले समाजलाई कताकता विभाजित गर्ने परिस्थिति विकास हुन खोजेको हो कि भन्ने पनि लाग्छ,’ प्रचण्डलाई लक्ष्य गर्दै उनले भने।

उनले समाज विभाजित गर्ने अभिव्यक्ति कसैले पनि दिन नहुने बताए।

‘आजको संसदको गणितले सरकार यस्तै तरिकाले बनिरहने, भत्किने, लोकतन्त्रमा यसलाई स्वभाविक रूपमा लिनुपर्छ। पद भनेको अस्थायी कुरा हुन्। स्थायी कुरा भनेको सहिष्णुता कायम गर्ने र मुलुक र जनतालाई केन्द्रमा राखेर अघि बढ्ने कुरा हो,’ उनले भने, ‘यी कुरामा पनि हामीले ध्यान दिनुपर्छ। हरेकले के सोच्नुपर्छ भने आगामी यात्रामा कुनै पनि घुम्तीमा कहिले पनि भेटै नहुने गरी अभिव्यक्ति आउने कुराले नेपालको राजनीति सफा हुन खोजिरहेको छैन।’

(न्युज एजेन्सी नेपाल)

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version