काठमाडौँ: नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारले संसद छलेर दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन खोजेको बताएका छन्।

शुक्रबार पेरिसडाँडामा भएको स्थायी समिति बैठकपछि बोल्दै माओवादी उपाध्यक्षसमेत रहेका सापकोटाले संसद अधिवेशन बोलाउन सरकारले ढिलाइ गरेको बताए।

‘सरकारको नियत राम्रो देखिएको छैन, सदन छलेर सरकारले अध्यादेश ल्याउन खोज्दैछ। त्यो अध्यादेश पनि केका लागि भन्दा पार्टीहरूलाई विभाजन गर्नका लागि। यो सरकारको गतिविधि हेर्दा लोकतन्त्रमाथि निकै ठूलो समस्या पैदा हुँदैछ,’ उनले भने, ‘लोकतन्त्रको आत्मा भनेको संसद हो।’

उनले आफू सभामुख हुँदा त्यसबेलाको सरकारले मंसिरमै हिउँदे अधिवेशन बोलाउने गरेको पनि बताए।

‘अब हामी संसदमा भएका सबै पार्टीहरूसँग संवाद गरी संसद अधिवेशन बोलाउन दबाब दिन्छौं,’ उनले भने, ‘समयमै संसद नबोलाउनुको कारण अध्यादेश हो कि भन्ने लागेको छ।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version