काठमाडौँ: युक्रेनमा ९ महिनादेखि त्यहाँको सेनाको कब्जामा रहेका दुई नेपालीको उद्धार गरिएको छ।

गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले दिएको जानकारीअनुसार ९ महिनादेखि युक्रेनी सेनाको नियन्त्रणमा रहेका तेह्रथुमका २९ वर्षीय फुर्वा शेर्पा र दोलखा घर भएका ३९ वर्षीय शेर साम्बो शेर्पाको उद्धार गरिएको हो।

दलालको प्रलोभनमा परी उनीहरू नयाँ दिल्लीस्थित एक एजुकेसन कन्सल्टेन्सीमार्फत तीन महिनाको विद्यार्थी भिसामा युक्रेन पुगेका थिए।

गैरआवासीय नेपाली संघका अध्यक्ष केसीका अनुसार गत मे महिनादेखि उनीहरू युक्रेनको मिकोलाइटस्थित एमसीसी डिटेन्सन केन्द्रमा थिए। उनीहरूलाई बुधबार युक्रेनी सेनाले माल्दोवामा लगेर छाडिदिएको छ।

अब गैरआवासीय नेपाली संघको सहयोगमा उनीहरू टर्किस्ट एयरलाइन्सको फलाइट नम्बर टीके२७४ मार्फत माल्दोवाबाट शुक्रबार दिउँसो काठमाडौँ आइपुग्ने गैरआवासीय नेपाली संघका अध्यक्ष केसीले जानकारी दिए।

उनीहरूको उद्धारका लागि जर्मनीका लागि नेपाली राजदूत डा शैल रुपाखेती र नियोग उपप्रमुख सागर फुयाँललगायत प्रत्यक्ष/अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैलाई अध्यक्ष केसीले धन्यवाद दिएका छन्।

यस्तै उनीहरूको उद्धारका लागि गैरआवासीय नेपाली संघका तर्फबाट नेतृत्वदायी भूमिका निर्वाह गर्ने आईसीसी सदस्य चिरन शर्मा र संघको केन्द्रीय कार्यालयका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउत र सचिवालयका कर्मचारीप्रति पनि उनले आभार प्रकट गरेका छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version