काठमाडौँ: नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले श्वेतपत्र जारी गर्ने निर्णय गरेको छ।
मंगलबार बसेको बोर्ड बैठकले मुख्य ३ विषयमा निर्णय गरेको हो।
दोस्रो निर्णयको रूपमा सरकारले १० वर्षमा २८ हजार ५०० मेगावाट उत्पादन गर्ने लक्ष्यअनुसार विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) खुल्ला गर्ने निर्णय गरेको छ।
त्यस्तै, विपन्न समुदायका लागि राहतको प्याकेज घोषणा गर्ने पनि निर्णय गरेको छ।
कार्यकारी निर्देशक कुलमान घिसिङ र ऊर्जामन्त्री दीपक खड्काबीच मनमुटाव हुँदा लामो समयदेखि प्राधिकरणको बोर्ड बैठक बस्न सकेको थिएन।
बोर्ड बैठकमा कुलमान घिसिङले मन्त्रीको चाहनाविपरीत निर्णयमा असहमति राखेपछि विवाद चर्किँदै गएको थियो।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेसँगै प्राधिकरणको बोर्ड बैठक बसेको हो।
‘मंगलबार नै सञ्चालक समितिको बैठक बसेको थियो। मुख्यत: ३ निर्णय गरेको छ’, एक सञ्चालक समिति सदस्यले भने, ‘प्राधिकरणको अवस्थाबारे श्वेतपत्र जारी गर्ने, रोकिएको पीपीए खुल्ला गर्ने र विपन्न नागरिकलाई सहुलियतको प्याकेज ल्याउने निर्णय भएको छ।’

