काठमाडौँ:
कांग्रेस सांसद माया राईलाई १० लाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ। न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले आज बुधबार उनलाई धरौटीमा छोड्न आदेश गरेको हो।

काठमाडौँको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको अभियोगमा उनी गत वैशाख १३ गते शनिबार बेलुका काठमाडाैँकाे कपनस्थित निवासबाटै प्रहरीले पक्राउ गरेको थियो।

सहकारी ठगी प्रकरणमा राईविरुद्ध मंगलबारमात्रै मुद्दा दायर भएको थियो। राईविरुद्ध दुई करोड ४० लाख ४४ हजार ७ सय ९० रुपैयाँ विगो मागसहित जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले अदालतमा मुद्दा दायर गरेको थियो।

राईसहित २१ जनालाई प्रतिवादी बनाइएको छ। राई ०७३ कात्तिक ६ गतेदेखि ०७४ मंसिर ४ गतेसम्म स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको कार्यसमिति सदस्य हुँदा ८९ लाख ३४ हजार ३ सय ५५ रुपैयाँ र मिति ०७४ मंसिर ८ गतेदेखि ०७६ भदौ २१ गतेसम्म उक्त सहकारीको सचिव हुँदा १ करोड ४२ लाख १० हजार ४ सय ३३ रुपैयाँ ८० पैसा गरी २ करोड ४० लाख ४४ हजार ७ सय ९० रुफैयाँ बिगो बराबरको रकम ठगी गरेको देखिएको छ।

भोजपुरकी राई नेपाली कांग्रेसको समानुपातिक कोटाबाट सांसद हुन्। स्वर्णलक्ष्मी सहकारी ठगीमा यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो। त्यस्तै गितेन्द्रबाबु राई भने फरार छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version