काठमाडौँ । सरकारले सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगलाई पूर्णता दिएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्त गरेर दुवै आयोगलाई पूर्णता दिएको हो ।
पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको सिफारिस समितिले सिफारिस गरेका नामलाई मन्त्रिपरिषद्ले अनुमोदन गर्दै पूर्णता दिएको हो । मन्त्रिपरिषद्ले सिफारिस समितिको निर्णय अनुसार सत्य निरुपणमा महेशकुमार थापा तथा बेपत्ता आयोगमा पूर्वमुख्यसचिव लीलादेवी गड्तौलालाई अध्यक्ष बनाउने निर्णय गरेको हो ।
त्यस्तै बैठकले सत्य निरूपण आयोगको सदस्यमा अच्युतप्रसाद भण्डारी, टीकाप्रसाद ढकाल, कुमारी कौशल्या ओझा र पदमबहादुर शाहीको नाम अनुमोदन गरेको छ । बेपत्ता छानबिन आयोगको सदस्यमा अग्निप्रसाद थपलिया गोपालनाथ योगी, सृजना पोखरेल, विनिता नेपालीको नाम अनुमोदन गरेको संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुंगले बैठक पछि जानकारी दिए ।
काठमाडौं । सरकारले गभर्नर सिफारिस समिति पुनर्गठन गरेको छ ।
आज साँझ बसेको मन्त्रिपरिषद बैठकले उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल संयोजक, निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा. पोषराज पाण्डे सदस्य रहेको सिफारिस समिति गठन गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।
यसअघिका सदस्य डा. विश्व पौडेलको राजीनामापछि समिति फेरि पुनर्गठन गरिएको हो । यसअघि पनि समिति सदस्यबाट डा. विजयनाथ भट्टराईले राजीनामा दिएका थिए ।
काठमाडौं । सहसचिव शोभाकान्त पौडेल सचिवमा बढुवा भएका छन् ।
मन्त्रिपरिषद् बैठकले पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । पर्यटनमन्त्रालयका सचिव विनोदप्रसाद सिंहको अघिल्लो साताबाट अवकाशपछि सचिव पद रिक्त थियो ।
पौडेलले भन्सार विभागको महानिर्देशक, नेपाल पुनर्बीमा कम्पनीको अध्यक्ष, धितोपत्र बोर्डको अध्यक्षलगायतको जिम्मेवारी सम्हालिसकेका छन् ।

