काठमाडौँ: विश्व बैंकको कार्यकारी निर्देशकहरूको सञ्चालक समिति बैठकले विद्युत र सिँचाइ क्षेत्रका दुई आयोजनामा २५ करोड ७० लाख डलर (सोमबारको विनिमयदर अनुसार ३५ अर्ब २० करोड) ऋण लगानी स्वीकृत गरेको छ।

केही दिनअघि बसेको बैंकको कार्यकारी निर्देशकहरूको बोर्ड बैठकले यस्तो लगानी स्वीकृत गरेको हो।

विद्युत प्रवाह सुधार आयोजनाको लागि १२ करोड (करिब १६ अर्ब ४४ करोड) र रानी जमरा कुलरिया सिँचाइ आयोजना आधुनिकीकरणको लागि १३ करोड ७० लाख (१८ अर्ब ७६ करोड) ऋण लगानी स्वीकृत भएको हो।

विद्युत प्रवाह सुधार आयोजना अन्तर्गत कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा विद्युत सञ्जार विस्तार र आपूर्ति सुधारका काम हुनेछन्।

त्यस्तै, रानी जमरा कुलरिया सिँचाइ आयोजना अन्तर्गत वर्षभरी सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ।

यसले कैलाली जिल्ला र सुदूरपश्चिम प्रदेशमा कृषि उत्पादनमा वृद्धि हुने ती क्षेत्रको पर्यावरणमा देखिने असरप्रति सहनशीलता वृद्धि गर्ने अपेक्षा गरिएको छ।

यो आयोजनाले थप १७ हजार पाँच सय हेक्टर क्षेत्रमा सिँचाइ पुग्ने र एक लाख ६० हजार मानिस लाभान्वित हुने मानिएको छ।

‘नेपालको दिगो विकासको लागि विद्युतको निर्वाध प्रवाह र वर्षभरी सिँचाइ सुविधा आधारभूत पक्ष हुन्,’ नेपाल, श्रीलंका र मालदिभ्सका लागि विश्व बैंकका आवासीय निर्देशक डेविड सिस्लेनले भने।

यी आयोजनाले नेपाल विद्युत प्राधिकरण र खानेपानी उपभोक्ता संघको क्षमता अभिवृद्धि समेत गर्ने बताइएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version