काठमाडौँ: देशभर असार २२ गतेसम्म कुल धान रोपाइँ ४१.९ प्रतिशत पुगेको छ ।
गत वर्ष सोही अवधिमा यो संख्या ४३.५ प्रतिशत थियो । यस वर्षको रोपाइँ गति गत वर्षभन्दा केही सुस्त देखिएको छ ।
हालै सार्वजनिक भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार यो वर्ष कुल १३ लाख ८७ हजार ४१५ हेक्टर क्षेत्रमा धान खेती हुने अनुमान गरिएको छ ।
त्यसमध्ये हालसम्म ५ लाख ८० हजार ८८६ हेक्टर क्षेत्रमा धान रोपाइँ सम्पन्न भइसकेको छ ।
प्रदेशगत विवरण हेर्दा, सबैभन्दा बढी रोपाइँ सुदूरपश्चिम प्रदेशमा भएको देखिन्छ । सुदूरपश्चिम प्रदेशमा ८२.८ प्रतिशत (९१ लाख ४५ हजार ९३२ हेक्टर क्षेत्रमा) धान रोपाइँ सम्पन्न भइसकेको छ ।
त्यसपछिल्लो स्थानमा कर्णाली प्रदेश छ, जहाँ ७१.७ प्रतिशत रोपाइँ भएको छ ।
यता गण्डकी (५५.६५), लुम्बिनी (५२.१५) र बागमती प्रदेश (५१.९५) मा पनि रोपाइँको गति आधाभन्दा माथि पुगेको छ ।
तर, कोशी र मधेस प्रदेशमा रोपाइँको गति सुस्त देखिएको छ ।
कोशीमा अहिलेसम्म २९.५ प्रतिशत (८१ हजार ६३५ हेक्टर) मात्रै रोपिएको छ भने मधेस प्रदेशमा झनै कम, मात्र १३.६ प्रतिशत (५१ हजार २५० हेक्टर) मा रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।

