काठमाडौं: अस्ट्रेलियाको क्रिकेट एसिटीमाथि नेपालले ४१ रनको जित निकालेको छ। मंगलबार बिहान भएको खेलमा टस जितेर एसिटीले पहिला फिल्ड रोजेपछि नेपालले सुरुमा ब्याटिङ गरेको थियो।
सुरुमा ब्याटिङ गरेको नेपालले आठ विकेटको क्षतिमा १७७ रन बनायो। नेपालका लागि ओपनर आशिफ शेखले अर्धशतक हिर्काए। ३९ बल खेल्दा उनले ६९ रन बनाएका हुन्। कप्तान रोहित पौडेलले २८ बलमा २६ रन बनाउँदा आरिफ शेखले १८ बलमा २४ रन जोडे। नेपालका अन्य ब्याट्सम्यानले भने उल्लेख्य रन जोड्न सकेनन्।
१७८ रनको चुनौती पछ्याएको एसिटी १७.२ ओभरमा १३६ रन बनाएर अलआउट भयो।
नेपाल क्रिकेट सङ्घ (क्यान) काअनुसार नेपालले अगस्ट २६ देखि ३० तारिखसम्म क्रिकेट एसिटी र साउथ अस्ट्रेलियासँग अभ्यास खेल खेल्न लागेको हो। नेपालले दुईदुई वटा टी–२० प्रतिस्पर्धा गर्नेछ।
अस्ट्रेलियामा रहेको नेपालले अभ्यासकैक्रममा अगस्ट ३० तारिखमा साउथ अस्ट्रेलियासँगै एकदिवसीय खेल खेल्ने छ।

