काठमाडौँ । नेपाली सेनाले हाल भइरहेको आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सबैलाई शान्तिपूर्ण समाधानका लागि आग्रह गरेको छ। एक अपिल जारी गर्दै प्रधानसेनापति अशोकराज सिग्देलले आन्दोलनरत समूहलाई वार्ताका लागि आह्वान गरेका हुन्।

सिग्देलले आन्दोलनमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारलाई समवेदना दिएका छन्। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनले आन्दोलनका कारण भएको अपूरणीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

नेपालको स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय एकताको रक्षामा नेपाली सेना सधैँ प्रतिबद्ध रहेको स्मरण गराउँदै उनले अहिलेको असहज परिस्थितिमा थप क्षति हुन नदिन सबैलाई शान्त रहन आग्रह गरेका छन्।

सिग्देलले राष्ट्रिय तथा ऐतिहासिक सम्पदा, सार्वजनिक सम्पत्ति, आम नागरिक, र विदेशी कूटनीतिक नियोगहरूको सुरक्षा सुनिश्चित गर्न सबै नेपालीको साझा कर्तव्य रहेकोमा जोड दिएका छन् ।

यस्तो छ प्रधानसेनापतिको सम्बोधन :
आदरणीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू,

नेपालको इतिहास देखि नै नेपालको स्वतन्त्रता, सार्वभौम सत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, राष्ट्रिय एकता र नेपाली जनताको सुरक्षार्थ विषम परिस्थितिमा पनि नेपाली सेना प्रतिबद्ध रहँदै आएको तथ्य हामी सबैलाई सर्वविदितै छ।

नेपालमा हाल भइरहेको आन्दोलनको क्रममा हुन पुगेको जनधनको अपूरणीय क्षतिप्रति गहिरो दुःख प्रकट गर्दै दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्नुका साथै शोक सन्तप्त परिवारजनप्रति नेपाली सेना हार्दिक संवेदना र सहानुभूति प्रकट गर्दछ।

साथै, घाइते बिरामीहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गर्दछौँ। आन्दोलनको क्रममा हालसम्म धेरै जनधनको क्षति भइसकेको हुँदा जनधनको थप क्षति हुन नदिन र शान्ति, सुरक्षा, अमन चयन एवं राष्ट्रिय एकता र सद्भाव कायम गर्नु हामी सबै नेपालीको साझा दायित्व हो। वर्तमान असहज परिस्थितिलाई सामान्यीकरण गर्दै राष्ट्रिय एवं ऐतिहासिक सम्पदा, सार्वजनिक एवं नागरिकहरूको सम्पत्ति, आम नागरिक, मित्र राष्ट्रका कूटनीतिक नियोग तथा नागरिकहरूलाई सुरक्षाको प्रत्याभूति दिई राष्ट्रको सर्वोपरि हितको रक्षा गर्नु हामी सबैको साझा कर्तव्य हो।

तसर्थ, यस विषम परिस्थितिबाट राष्ट्रलाई शान्तिपूर्ण तवरले निकास दिनको लागि आन्दोलनरत समूहलाई आन्दोलनका कार्यक्रमहरू स्थगन गरी वार्ताको निमित्त आह्वान गर्दछौँ।

जय मातृभूमि ! जय देश !

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version