काठमाडौं: गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजीका नाममा १० प्रतिशत नि:शुल्क सेयर माग्दै २८ दिनदेखि बन्द भोटेकोशी जलविद्युत आयोजना तत्काल सञ्चालन गर्न निर्देशन दिएका छन् ।

बुधबार साँझ ५ बजे गृहमन्त्री अर्यालले सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर तत्काल हाइड्रोपावर खुलाउन निर्देशन दिएका हुन् ।

जेनजीका नाममा सेयर मागेर ऊर्जा उद्यमीलाई दु:ख दिइएको भन्दै स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानका अध्यक्ष गणेश कार्कीसहितका पदाधिकारीले बुधबार साँझ गृहमन्त्री अर्याललाई भेटेर सुरक्षा माग गर्दै अराजक गतिविधि गर्नेलाई कारबाही गर्न माग गरेका थिए ।

‘हामीसँगको भेटपछि गृहमन्त्री अर्यालज्यूले सिन्धुपाल्चोकका सीडीओलाई फोन गरेर २८ दिनदेखि बन्द भोटेकोशी जलविद्युत आयोजना तत्काल सञ्चालन गर्न निर्देशन दिनुभएको छ,’ इप्पानका अध्यक्ष गणेश कार्कीले क्लिकमान्डुसँग भने, ‘प्रहरी अपुग भए काठमाडौंबाट पठाउँला तर हाइड्रोपावर बन्द हुन दिनु भएन ।‘

गृहमन्त्री अर्यालले सरकारले सुरक्षा दिने आश्वासन दिँदै ढुक्क हुन ऊर्जा उद्यमीहरुलाई आग्रह गरे ।

जेनजीका नाममा पदमबहादुर श्रेष्ठलगायत ६ जनाको समूहले १० प्रतिशत नि:शुल्क सेयर माग गर्दै गत भदौ २५ गतेदेखि भोटेकोशी जलविद्युत् आयोजना बन्द गराएको छ ।

यतिमात्रै होइन, सिन्धुपाल्चोकमा सञ्चालित १४ बढी हाइड्रोपावरलाई १० प्रतिशत नि:शुल्क सेयर माग्दै आयोजना बन्द गर्ने पत्र पठाएपछि ऊर्जा उद्यमीहरु आतंकित भएका छन् ।

जेनजीका नाममा १८ दिनदेखि आयोजना बन्द हुँदा भोटेकोशीले मात्रै २० करोड रुपैयाँ घाटा व्यहोरेको छ।

गत असोज २ गते स्थानीय जनप्रतिनिधि, आयोजनाका प्रतिनिधि र आन्दोलनकारीको सहभागितामा विवाद समाधानको छलफल भए पनि झडप र तोडफोडपछि प्रारम्भिक सहमति भए पनि कार्यान्वयन हुन सकेन।

भोटेकोशी जलविद्युत् आयोजना नेपालकै पहिलो प्रत्यक्ष वैदेशिक लगानीमार्फत प्रवर्द्धित ४५ मेगावाट क्षमताको आयोजना हो। अमेरिकी कम्पनी पान्डा इनर्जीले सुरु गरेको यो आयोजना सन् २००१ मा व्यावसायिक उत्पादनमा आएको हो। हाल ९५ प्रतिशत स्वामित्व नेपाली लगानीकर्ताको र बाँकी ५ प्रतिशत अमेरिकी कम्पनीको छ।

कम्पनीमा हाल सिप्रदी समूहका अध्यक्ष सिद्धार्थ शमशेर राणा कार्यकारी अध्यक्ष छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version