काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभाको विघटन सही छ भनेर कहीँ कतै सोच्न नसक्ने बताएका छन् । साथै उनले फागुन २१ मा घोषणा भएको निर्वाचन पनि नहुने बताएका छन् । वर्तमान सरकारलाई प्रतिगमनको संज्ञा दिँदै उनले यस्तो बताएका हुन् । ‘चुनाव हुनेवाला छैन, यो सरकारले चुनाव गराउने बाटो पनि समातेको छैन, अवैध सरकार हो यो,’ ओलीको भनाइ छ ।
बुधबार एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्र यस्तो बताएका हुन् । ‘अहिले लुरुक्क, कान खसाएर, असंवैधानिक सरकारको सिफारिसमा प्रतिनिधि सभा विघटनलाई मान्ने ?’ ओलीले भने, ‘ हामीलाई यस्ता कुरा मान्नै दिँदैन । कतै यो विघटन सही छ कि भनेर सोच्न पनि दिँदैन ।’
उनले विगतका अदालतका पटक पटकका फैसला र प्रावधानले समेत प्रतिनिधि सभा विघटन स्वीकार गर्न नसकिने बताए ।
ओलीले पूर्व प्रधानन्यायाधीशले आफै फैसला गर्ने अनि आफै असंवैधानिक ढङ्गले प्रधानमन्त्री हुने भन्दै प्रश्न समेत गरे । उनले योजना अन्तर्गत गरिएको प्रतिगमन भन्दै जेनजी मागसँग यो नजोडिने समेत दाबी गरे । उनले संसद् भङ्ग गर्ने, प्रधानमन्त्रीको राजीनामा माग्ने योजना नभएको भनेको भन्दै माग र आन्दोलन हाइज्याक भएको भनेर भनेको बताए ।
नेकपा एमालेमा फागुन २१ को चुनावमा भाग लिनुपर्ने आवाज उठिरहेका बेला ओलीले सुशीला कार्की नेतृत्वको सरकार र चुनावबारे ओलीले यस्तो टिप्पणी गरेका हुन् ।

