काठमाडौं, बैशाख २५ । संवैधानिक परिषद्को बैठकमा प्रधानमन्त्री बालेन शाह र प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बे बीच लामो सवालजवाफ भएको खुलेको छ ।

संवैधानिक परिषद्का एक सदस्यका अनुसार, बैठक शुरु हुनासाथ प्रधानमन्त्री बालेन शाहले प्रधानन्यायाधीश सिफारिसको एजेन्डा अघि सारेका थिए । शुरुमै उनले सर्वोच्च अदालतको वरिष्ठताक्रमको चौथो नम्बरमा रहेका न्यायाधीश डा. मनोज शर्मालाई प्रधानन्यायाधीश बनाउनुपर्ने प्रस्ताव गरेका थिए ।

प्रस्तावपछि सबैजसो सदस्यहरू मौन थिए । राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल र उपसभामुख रुवी कुमारीले पनि कुनै प्रतिक्रिया दिइनन् । विपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले भने प्रस्तावको प्रतिवाद गरे ।

उनले बैठकमा प्रधानमन्त्री बालेन शाहलाई भने, ‘तपाईंले वरिष्ठता मिचेर ल्याउनुभयो । ८० वर्षको न्यायपालिकाको इतिहासमा वरिष्ठताक्रम तोडेको नजिर छैन । चार नम्बरमा भएको न्यायाधीशलाई ल्याएर प्रस्ताव राख्नुभयो । तपाईंले संविधान मिच्ने काम गर्नुभयो । यसमा कांग्रेसको समर्थन रहँदैन ।’

संवैधानिक परिषद्का ती सदस्यका अनुसार, त्यसपछि प्रधानमन्त्री र भीष्मराज आङ्देम्बे बीच सवालजवाफ शुरु भयो ।

प्रधानमन्त्री बालेन शाहले जवाफमा भने, ‘न्यायसम्पादनको आधारमा संकलन भएको आँकडाका आधारमा सिफारिस भएको हो । सबैभन्दा बढी न्यायसम्पादन न्यायाधीश डा. मनोज शर्माको देखियो ।’

आङ्देम्बेले प्रतिक्रियामा भने, ‘केको र न्याय सम्पादन ? तपाईंले मिच्न पाउनुहुन्न ।’

त्यसपछि प्रधानमन्त्री शाहले भने, ‘न्यायाधीश मनोज शर्माले पाँच वर्षको अवधिमा साढे ७ हजार जति न्याय सम्पादन गर्नुभएको रहेछ । सपना माननीयले ४ हजार जति मात्रै फैसला गर्नुभएको छ । त्यसकारण उहाँ नै उपयुक्त हो ।’

त्यसपछि संवैधानिक परिषद्का सदस्य आङ्देम्बेले प्रतिवाद गरे, ‘तपाईंले कसले कति न्याय सम्पादन गर्‍यो भन्ने विषयलाई हेरेर होइन । वरिष्ठतम न्यायाधीश, जुन विधि र परम्परा छ, त्यो अनुसार नाम प्रस्ताव गर्नुपर्थ्यो । संविधानले जुन परिकल्पना गरेको छ, त्यो मिच्न भएन । मैले विधि र परम्परा र संविधानको कुरा गर्छु ।’

प्रधानमन्त्रीले जवाफमा भने, ‘न्याय सम्पादन बढी गरेको व्यक्ति नै योग्य हो ।’

करिब डेढ घण्टाजति दुई जना बीच सवालजवाफ चलिरह्यो । त्यसक्रममा अरु सदस्यहरू प्राय: मौन बसे । अनि प्रधानमन्त्री शाहले न्यायसम्पादनको संख्यालाई आधार देखाएर शर्माको नाम सिफारिस गरिएको जिकिर दोहोर्‍याइरहे ।

प्रधानमन्त्रीको सचिवालयले सञ्चारमाध्यमहरूमा पठाएको विवरणमा पछिल्ला पाँच वर्षमा सर्वोच्च अदालतका ६ जना न्यायाधीशले गरेको न्यायसम्पादनको आँकडा छ । त्यो आँकडा अनुसार, सबैभन्दा बढी डा. मनोजकुमार शर्माले करिब ७४ सय मुद्दा फैसला गरेका छन् ।

आँकडा अनुसार, कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले त्यो अवधिमा करिब ४७ सय मुद्दा फर्स्योट गरेकी छन् । शर्मापछि हरि फुँयाल र कुमार रेग्मीले सबैभन्दा बढी मुद्दा फर्स्योट गरेका छन् । संवैधानिक परिषदका ती सदस्यका अनुसार बैठकमा प्रधानमन्त्री बालेन शाहले सबैभन्दा बढी मुद्दा फर्स्योटको आँकडालाई नै डा. मनोज शर्माको सिफारिसको आधार बनाइएको थियो ।

लामो सवालजवाफपछि बैठकको निर्णयको माइन्यूट लेख्ने कुरा भयो । त्यसक्रममा विपक्षी दलका नेता आङ्देम्बेले आफूले लिखित असहमति राख्ने बताए । अनि त्यसमा भने राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल पनि मिसिएका थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version