काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी सम्पत्ति आर्जन गरेको आशंकासहित एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यमाथि अनुसन्धान थालेको छ ।
अनुसन्धान अधिकृत तोकिएका एक सुरक्षा अधिकारीले गतसाता बज्राचार्यलाई अख्तियारमा बोलाएर सम्पत्ति विवरणको फारम भराएका हुन् ।
यता बज्राचार्यले शुरुमा आफूलाई अख्तियारले बोलाएर फर्म बुझाएको स्विकारे । उनले भने, ‘अहिले त सबैले भरेर बुझाउनुपर्ने हुन्छ, मैले पनि अख्तियारमा बुझाएको हो ।’ ‘सबै बुझाउने त अख्तियारमा नभई केशरमहलस्थित सम्पत्ति जाँचबुझ आयोगमा होइन र ?’ भन्ने अनलाइनखबरको जिज्ञासामा उनले भने, ‘अख्तियारको कुरामा त मैले तपाईलाई बुझेर मात्रै भन्नसक्छु है ।’ त्यसपछि उनले फोन काटे र सम्पर्कमा आउन चाहेनन् ।
अख्तियारमा बुझाउने र सम्पत्ति जाँचबुझ आयोगमा बुझाउने सम्मत्ति विवरणको प्रकृति फरक हो ।


