काठमाडौँ: काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष आर्थिक वर्ष २०८३/८४ को लागि २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ।

महानगरपालिकाको नगर सभाको १९ औं अधिवेशनमा कार्यबाहक नगरप्रमुख सुनिता डंगोलले उक्त रकम बराबरको अनुमानित बजेट प्रस्तुत गरेकी हुन्।

महानगरको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि सञ्चित कोषमा २५ अर्ब १३ करोड ३० लाख ५५ हजार रुपैयाँ तथा ७५ करोड रुपैयाँ अन्य बाह्य व्ययभार हुने जानकारी दिइन्।

आगामी आर्थिक वर्षमा संचित कोषमा २५ अर्ब १३ करोड ३० लाख ५५ हजार रुपैयाँ जम्मा हुने अनुमान गरिएको उनले जानकारी दिइन्।

यसमध्ये महानगरपालिकाको आन्तरिक आय र बैंक मौज्दातबाट २० अर्ब १८ करोड ६३ लाख २९ हजार रुपैयाँ स्रोत व्यवस्थापन हुने अनुमान छ। त्यस्तै संघीय सरकार तथा प्रदेश सरकारबाट सशर्त, समानीकरण र राजस्व बाँडफाँटमार्फत ४ अर्ब ९३ करोड ६७ लाख २६ हजार रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको उनले बताइन्। जनसहभागिताबाट १ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

महानगरले आर्थिक विकास क्षेत्रमा कुल बजेटको २.१ प्रतिशत अर्थात् ५४ करोड १८ लाख २० हजार रुपैयाँ, सामाजिक विकास क्षेत्रमा ९.६ प्रतिशत अर्थात २ अर्ब ४२ करोड २७ लाख ३१ हजार रुपैयाँ, पूर्वाधार विकास क्षेत्रमा ६१ प्रतिशत अर्थात १५ अर्ब ३१ करोड ६७ लाख ४८ हजार रुपैयाँ, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा ८.५ प्रतिशत अर्थात् २ अर्ब १३ करोड ४७ लाख ९२ हजार रुपैयाँ तथा कार्यालय सञ्चालन र प्रशासनिक क्षेत्रमा १८.८ प्रतिशत अर्थात् ४ अर्ब ७१ करोड ६९ लाख ६४ हजार रुपैयाँ विनियोजन गरेको छ।

फोहोरमैला व्यवस्थापन, विद्यालय शिक्षा प्रणाली सुधार, सुशासन प्रवर्द्धन, सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको क्षमता अभिवृद्धि तथा ‘एक वडा, एक नमूना उद्यमशीलता कार्यक्रम’ मार्फत रोजगारी र आय वृद्धि गर्ने कार्यक्रमलाई विशेष प्राथमिकता दिएको उनले जानकारी दिइन्।

प्रदूषण न्यूनीकरण, सार्वजनिक यातायात व्यवस्थापन, ऐतिहासिक, धार्मिक तथा पुरातात्त्विक महत्वका मठ, मन्दिर, बहाल, बही, पोखरी, हिति, ननी, चोक लगायत सम्पदा संरक्षण तथा मूर्त र अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनका लागि आवश्यक बजेट व्यवस्था गरिएको उनले बताइन्।

युवा लक्षित स्वरोजगार तथा रोजगार कार्यक्रम सञ्चालनका लागि १० करोड रुपैयाँ विनियोजन गरिएको छ।

नवयुवा सहकार्य तथा ‘लर्न ह्वाइल यु लर्न’ कार्यक्रम र जनयुद्ध तथा अमर प्रहरीहरूको नामावलीसहित स्मारक निर्माणका लागी बजेट व्यवस्थापन गरिएको छ ।

महानगरले आगामी आर्थिक वर्षमा वातावरण व्यवस्थापनका लागि १ अर्ब २२ करोड रुपैयाँ, शिक्षा क्षेत्रमा १ अर्ब ७१ करोड रुपैयाँ, सम्पदा संरक्षणका लागि २ अर्ब ५३ करोड रुपैयाँ, सामाजिक विकासमा ४९ करोड रुपैयाँ, पूर्वाधार विकासमा ५ अर्ब ४१ करोड रुपैयाँ, हरियाली प्रवद्र्धनमा ४३ करोड रुपैयाँ, सूचना प्रविधिमा ४१ करोड रुपैयाँ, स्वास्थ्य सेवामा ७० करोड रुपैयाँ तथा विपद् व्यवस्थापनमा ३६ करोड रुपैयाँ विनियोजन गरेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version