काठमाडौँ: मनसुन भित्रिएसँगै बाढी पूर्वानुमान महाशाखाले बाढीसम्बन्धी चेतावनी जारी गर्न थालेको छ।
यसै क्रममा बाढी महाशाखाले आज देशका विभिन्न जिल्लाका खोला तथा नदीमा बाढी बढ्न सक्ने जानकारी गराउँदै सतर्कता अपनाउन सुझाव दिएको छ।
महाशाखाले आज बिहान जारी गरेको सूचनामा भनिएको छ, ‘आज सुनसरी, मोरङ, संखुवासभा र आसपासका जिल्ला भई बहने ससाना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहने पूर्वानुमान रहेकाले उक्त नदी तटीय क्षेत्रहरूमा सतर्कता अपनाउनुहुन अनुरोध छ।’
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोसी प्रदशका केही स्थानमा मात्र मनसुनी वायुको प्रभाव छ। देशका बाँकी स्थानमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ।
यस वर्ष मनसुन सरदर मिति जुन १३ तारिखभन्दा ६ दिन ढिला गरी जुन १९ तारिख (असार ५ गते) मा नेपाल भित्रिएको हो।
कोसी प्रदेशबाट भित्रिएको मनसुन अब बिस्तारै पश्चिमतर्फ फैलिँदै देशको पश्चिमसम्म पुग्छ। यसका लागि केही दिन लाग्ने मौसमविद् बताउँछन्।


