काठमाडौँ: आज (शुक्रबार) काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना देखिएको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाले आज बिहान ८ बजे जारी गरेको प्रक्षेपणअनुसार हाल मधेस प्रदेशका धेरै स्थान, कोसी र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ।

दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपात हुने सम्भावना छ। कोसी र मधेस प्रदेशका तराई तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थान, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ। अनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा भने तातो लहर हुने सम्भावना छ।

मौसम महाशाखाका अनुसार राति कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थान तथा तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ।

काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना

आज काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना देखिएको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार अहिले बिहान काठमाडौँ उपत्यकाको आकाश बादलले ढाकेको छ।

‘तत्काल पनि पानी पर्न सक्छ तर सम्भावना अलि कम छ’ , उनले शुक्रबार बिहान भने, ‘तर एक-दुई घण्टापछि बादल घट्दै जाने र घाम देखिने सम्भावना छ।’

यद्यपि अपराह्नपछि फेरि बादल बढ्दै गएर हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको मौसमविद् अधिकारीले बताए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version