काठमाडौँ l रसुवाको भोटेकोशीमा विनाशकारी बाढी आएको नवौँ दिन नेपाली सेनाका प्रधानसेनापति महारथी अशोक राज सिग्देलले बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण भ्रमण गरेका छन्।

प्रधानसेनापति सिग्देलले बिहीबार त्रिशूली नदी आसपास तथा टनेललगायत क्षेत्रमा नेपाली सेना र अन्य सम्बद्ध निकायले सञ्चालन गरिरहेको खोज तथा उद्धार कार्यको स्थलगत अवलोकन गरेका हुन्।

निरीक्षणका क्रममा उनले खोज तथा उद्धारमा खटिएका नेपाली सेनाका सकलदर्जासँग जानकारी लिँदै सबै सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र सहकार्य कायम गरी उच्च मनोबलका साथ उद्धार कार्यलाई निरन्तरता दिन निर्देशन दिएका छन्।

यसैबीच, भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ। सेनाका अनुसार बिहीबार बिहान ११ बजेसम्म विभिन्न प्रभावित क्षेत्रबाट हवाई साधनमार्फत ६ जनाको उद्धार गरिएको छ।

जलविद्युत् आयोजनाका टनेलमा समेत विदेशी उद्धारकर्मीसहितका संयुक्त टोली परिचालन गरी खोजी भइरहेको छ। लाङटाङ हाइड्रोमा २५ जनाको टोलीले टनेलभित्र करिब १५० मिटरसम्म प्रवेश गरी दुई स्थानमा साना होल बनाएर खोजी गरिरहेको छ भने चिलिमे हाइड्रोमा पनि संयुक्त टोलीले उद्धार कार्य जारी राखेको छ।

त्रिशूली–३ ‘ए’ आयोजनाको टनेलको आउटलेटमा जमेको लेदो र माटो हटाउने कार्य पाँच वटा एक्स्काभेटर प्रयोग गरी जारी रहेको छ। त्यस्तै, त्रिशूली–३ ‘बी’ आयोजनामा कार्यालय तथा आवास क्षेत्रसम्म पुग्न बाटो निर्माण तथा माटो पन्छाउने काम भइरहेको छ।

सेनाका अनुसार रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र पूर्वी नवलपरासीका प्रभावित क्षेत्रमा ९ हजार ३ सयभन्दा बढी सैनिक खोज तथा उद्धार, शव व्यवस्थापन, सडक सञ्चालन र आपत्कालीन उपचारलगायतका कार्यमा प्रत्यक्ष रूपमा परिचालन भएका छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version