काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले सिर्जित जटिल विपद् न्यूनीकरणका लागि अन्तरिक्ष प्रविधि, तथ्याङ्क आदानप्रदान र क्षेत्रीय सहकार्यमा जोड दिनुभएको छ ।
संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक र सामाजिक आयोगद्वारा थाइल्याण्डको बैंककमा आयोजित एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलनको उद्घाटन सत्रमा बुधबार विहान मन्तव्य दिँदै मन्त्री श्रेष्ठले जलवायु तथा भू-विपद्को सामना गर्न क्षेत्रीय सहकार्य र प्रविधि उपयोगमा जोड दिनुभएको हो ।
सम्बोधनका क्रममा मन्त्री श्रेष्ठले हालै लङटाङ लिरुङमा हिमपहिरो तथा बुढीगण्डकी क्षेत्रमा पहिरोका कारण भएका ठूला विपद्, जनधनको क्षति र निर्माणाधीन जलविद्युत् आयोजनामा पुगेको असरबारे ध्यानाकर्षण गराउनुभयो । द्रुत क्षति तथा आवश्यकता आकलनअनुसार विपद्को प्रभाव करिब २.७ अर्ब अमेरिकी डलर बराबर रहेको र पुनःनिर्माणका लागि करिब ४.८ अर्ब डलर आवश्यक पर्ने उहाँले जानकारी दिनुभयो ।
मन्त्री श्रेष्ठले बैङ्कक मन्त्रिस्तरीय घोषणापत्रको मस्यौदाको स्वागत गर्दै सन् २०२६ देखि २०३० सम्मको तेस्रो चरणमा उपग्रहबाट प्राप्त तथ्याङ्क साझेदारी, पूर्वसूचना प्रणाली र प्राविधिक सहयोगलाई सुदृढ बनाउन अपिल गर्नुभयो। साथै, हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान नगण्य (०.०१%) रहे पनि सन् २०४५ सम्ममा शून्य कार्बन उत्सर्जन हासिल गर्ने र स्वच्छ ऊर्जा प्रणालीको रक्षा गर्ने नेपालको प्रतिबद्धता दोहोर्याउनुभयो।
सम्मेलनका अवसरमा विहीबार २९ अक्टोबरमा नेपाल र संयुक्त राष्ट्रसङ्घीय ईएससीएपीको संयुक्त आयोजनामा ‘सगरमाथादेखि सागरसम्म: भोटेकोशी-त्रिशूली विपद्का पाठहरू’ विषयक क्षेत्रीय संवाद समेत सञ्चालन हुन गइरहेको पनि जानकारी गराउँदै सहभागी हुन अनुरोध गर्नुभयो ।


