काठमाडौँ: सत्तारुढ संघीय समाजवादी फोरमका सांसद हरिनारायण रौनियारको सांसद पद आजबाट स्वतः निलम्बनमा परेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा उनीसंगै १२ विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनको पद निलम्बनमा परेको हो।
तर प्रतिनिधिसभा नियमावली अनुसार उनले अदालतबाट पूर्ण फैसला नआएसम्म सांसदको लोगो भने प्रयोग गर्न पाउने छन् भने सांसदको हैसियतको सेवा सुविधा भने पाउने छैनन्।
उनी पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् भने पप्पु कन्स्ट्रक्सनका अध्यक्ष तथा सांसद हुन्। रौनियारका छोरा सुमित, सडक डिभिजिन प्रमुखसहित १२ जनाविरुद्ध अख्तियारले शुक्रवार विशेष अदालतमा मुद्दा दायर गरेको छ।
भ्रष्टाचार निवारण ऐन २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धी ऐन २०४८ अनुसार भ्रष्टाचारको मुद्दा दायर भएसँगै सार्वजनिक पद धारण गरेका व्यक्तिको पद स्वतः निलम्बनमा पर्ने अधिवक्ता शेर बहादुर केसीले बताए ।
