काठमाडौँ: यस वर्षको दशैं मुखैमा आइपुगेको छ। दशैं भन्नासाथ खाने,पीउने, घुम्ने र मनोरन्जन गर्ने भन्ने कुरा पहिलो प्राथमिकतामा रहन्छ।
गृहमन्त्री रामबहादुर थापा बादलले देशव्यापी रुपबाट घरेलु मदिराको विक्री वितरण र यसको उत्त्पादन नै रोक्ने र बढ्दै गएको लागु औषध कारोबार नियन्त्रण गर्ने बारे अभियान नै सुरुवात असोजको पहिलो साताबाट सुरु गरे।
यसैको अभियान स्वरुप अहिले प्रहरीले राजधानीमा बिशेष अभियान नै छेडेर मदिरा नियन्त्रण र दशैंको सुरुवातसंगै बढ्दै गएको जुवा खालमा प्रहरीको छापा मार्ने क्रम बढेको छ।
तर काठमाडौँको न्यूरोडबाट झन्डै ६ किलोमिटर दुरीमा रहेको अर्थात् नागार्जुन नगरपालिकाको वडा नम्बर-१ मा अहिले घरेलु मदिराको विक्री वितरण र उत्पादन बढ्दो छ। प्रहरीबाट हुने बेलाबखतको छड्के निष्प्रभावी जस्तै भएको छ।
गृहमन्त्री थापाको अभियानले मिदिराको विक्री-बितरण र उत्पादनले खासै छोएको छैन। नागार्जुन नगरपालिका-१ को बिशेष गरी माथिल्लो भेग (पुरानो वस्ती) जहाँ तामाङ र लामा समुदायको बाहुल्य छ त्यस क्षेत्रमा ब्यापक रुपमा घरेलु मदिराको विक्री वितरण र उत्पादन हुने गरेको छ।
“बेला बखतको प्रहरीको छापा देखावटी जस्तै छ यसको कडाइका साथ अनुगमन र नियन्त्रण यहाँ हुन सकेको छैन,” स्थानीय वासिन्दाको भनाई छ। यस्तो समस्या प्राय: रानीबन इलाकाको माथिल्लो भेग र तीन धारा क्षेत्रसम्मै रहेको स्थानीयको गुनासो छ।
नगरपालिकाको वडा नम्बर १ को कार्यालय र संगै प्रहरीको स्थानीय बिट छ तर रात र दिउसो समयमा पनि अनुगमन र छड्के लगभग हुँदैन, स्थानीयले भने।
“प्रहरीलाई सबै थाहा छ तर उसले देखेको नदेखे झैं गरिरहेको छ,” एक स्थानीयले समुदायमा आफुले नराम्रो हुने भन्दै स्रोत उल्लेख नगर्ने शर्तमा पहिलोक्लिकलाई बताए।
“गुनासो बढेको एक दिनमा प्रहरी आउँछ र छापा मारेर एक दुई वटा जाँडको घ्याम्पो फुटाए जस्तो गर्छ फेरी दुई चार दिनमा स्थिति उस्तै हुन्छ,” स्थानीयले भने।
स्थिति कति सम्म छ भने कति मदिरा उत्पादन हुने स्थानमा त पसल र खानपिनसहितको व्यस्था गरेर दिन र रातको समयमा पनि होहल्ला र कहिले कही झैंझगडासम्म हुने गरेको, स्थानिएको गुनासो छ।
अर्का एक स्थानीयका अनुसार प्रहरीको बीट हालको सरकारी भवन अर्थात सुकुम्बासी समस्या समाधान गर्ने भन्दै बनाइएको पक्कि भवन प्रहरीको आश्रय स्थल भनेको छ तर उसले मदिरा र यसको विक्री वितरण र उत्पादन सदाका लागि बन्द गर्न कत्ति पनि चासो दिएको छैन।
“भट्टी पसल र मदिरा उत्पादन गृह प्रहरीको बीटभन्दा मुस्किलले एक किलोमिटर होला तर उसले अहिलेसम्म रानीबनको भित्रि वस्तीमा छिरेर खासै अनुगमन छैन,” स्थानीयले भने।
स्थानीयका अनुसार रानीवन बस्तीमा मात्रै दर्जनबढी घरहरुमा मदिराको उत्पादन र विक्री वितरण हुने गरेको छ। स्थानीय ठाउँमै खपत भएपछी अन्य उत्पादन मुख्य बजार क्षेत्र ढुंगेधारा इलाकादेखि राधाकृष्ण मन्दिरसम्मका आसपासमा खुलेका ससाना पसलहरुको विक्री हुने गरेको बताइन्छ। प्रहरीले त्यस्ता पसलमा पनि घरेलु मदिराको विक्रीमा नियन्त्र गर्न सकेको देखिँदैन।
यसै बिषयमा बुझ्दा स्वयम्भु प्रहरी वृतका प्रमुख तथा प्रहरी नायव उपरीक्षक सुधिरराज शाही भन्छन- हामीलाई यसबारे जनगुनासो आएका छन् हामी मदिरा नियन्त्रणका लागि बेला बखतमा छाड्ने पनि जान्छौं।
यस्तै नागार्जुन नपा-१ का वडाअध्यक्ष रामचन्द्र लामा पनि आफ्नो आफु स्थानीय चुनावमा अध्यक्ष भइसकेपछि मदिरा नियन्त्रणमा अभियान चाल्ने बताएका उनी हाल चुपचाप जस्तै छन्। उनले स्थानीय स्तरमा सरसफाईका अभियान त चालेका छन् तर बढ्दै गएको घरेलु मदिराको विक्री वितरणबारे भने खासै चासो दिएका छैनन्।
