उर्लाबारी: मोरङ, उर्लाबारी नगरपालिका – ७ निवासी ८२ वर्षीया भगवती अधिकारीलाई बिहानको ११ बज्ने वित्तिकै परिवारका सदस्यले भन्छन्, “आमै, ११ बज्यो बेला भइसक्यो जाने होइन” । अधिकारी विगत ६ महिनायता नियमित रुपमा सोही वडामा रहेको उर्लाबारी परोपकार सेवा केन्द्र जानुहुने भएकीले बिहानको ११ बज्ने वित्तिकै उहाँका छोराबुहारी र नातीनातिनाले त्यहाँ जान सम्झाउँछन् ।

“अरु कता जान्छन् कता, दिनभर घरमा एक्लै बस्न मनै लाग्दैन,” जेठा छोरा खगेन्द्रसँगै बस्दै आउनुभएकी अधिकारीले भन्नुभयो, “परोपकार केन्द्रमा गएपछि आफूजस्तै साथीसँग भेट हुन्छ, दिनभर त्यहाँ बस्दा संसारै बेग्लै भएको महशुस हुन्छ ।”

बिहान ११ बजे हामी परोपकार केन्द्रमा भेला हुन्छौँ, उनले भने,“शुरुमा राष्ट्रिय गान गाउँछौ, गणेशको प्राथना गर्छौ, अनि भजनकीर्तनमा रमाउँछौँ ।” अधिकारी मात्र होइन उर्लाबारी–७ का ७० वर्षीय गोपाल थापाको दिनचर्या पनि परोपकार केन्द्रमै बित्छ । अध्यापन पेशाबाट निवृत्त हुनुभएका उहाँ पनि केन्द्रमा साथीभाइसँग गफ गर्ने र आध्यात्मिक ज्ञान दिने–लिने गर्नुहुन्छ ।

उक्त केन्द्रमा उर्लाबारीसँगै सीमा जोडिएको झापा, दमक नगरपालिका– ४ की ८३ वर्षीया रुक्मिणी पौडेल पनि नियमित आउनुहुन्छ । घर नजिकै आफ्नो उमेरका साथी जमघट हुने ठाउँ नभएपछि उनलाई छोरा गिरीराजले मोटरसाइकलमा नियमित ल्याउने–पु¥याउने गर्छन्।

“बुढेसकालमा घर नजिकै भजनकीर्तन गर्ने ठाउँ छैन, त्यसैले उर्लाबारी नै आउने गर्छु, उहाँले भन्नुभयो,” बिहान पनि छोराले नै मोटरसाइकलमा पु¥याइदिन्छ, बेलुका ४ बजे पनि छोरा नै लिन आउँछ ।” उर्लाबारी–७ निवासी ८५ वर्षीया शान्तिदेवी बस्नेतलाई पनि हरेक बिहान ११ बजेसम्म कुर्न निकै कठिन हुन्छ । भित्ते घडीको सुई ११ बजे तिर सोझिएपछि फुरुङ्ग हुँदै नजिकैको उक्त केन्द्रमा पुगिहाल्नुहुन्छ । आफूजस्तै ज्येष्ठ नागरिकसँग समय बिताउँदा उहाँलाई दिउसो ४ बजेको पत्तै हुँदैन ।

उर्लाबारी– ७ की ६५ वर्षीया वृद्धा देवीमाया शिवाकोटी शारीरिक रुपमा अशक्त छिन्। प्यारालाइसीसका कारण उनको एउटा हात चल्दैन तर पनि आफ्नै उमेरका ज्येष्ठ नागरिकसँग रमाउन पाउँदा उनलाई अशक्तताको महशुस भएको छैन । उनी भन्छिन्, “घर नजिकै छ, विस्तारै हिँड्दै आउँछु, यहाँ आउँदा दिन बितेको पत्तै हुँदैन ।” उनीहरु मात्र होइन सो केन्द्रमा हाल नियमित ६० वर्षभन्दा माथिका ५० भन्दा बढीको भेला हुन्छ । सबै एकै ठाउँमा भेला भएर दिन बिताउँदा तनावमुक्त भइने उनीहरु बताउँछन्।
विसं २०७३ फागुन २२ गते वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको दुई तले आठ काठे सो केन्द्रको दुई कठ्ठा जमिन छ । उक्त केन्द्रमा वृद्धवृद्धालाई मनोरञ्जनका लागि पिङ खेल्ने र टेलिभिजन हेर्ने व्यवस्था समेत मिलाइएको छ । केन्द्रका अध्यक्ष गङ्गा खरेलले भने, “सबै आमाबुबा बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म यहाँ बसेर भजनकीर्तन, आध्यात्मिक ज्ञान लिनुका साथै एकअर्काका खुशी र दुःख साटासाट गर्नुहुन्छ ।”
उक्त केन्द्रले ज्येष्ठ नागरिकलाई दिउँसो चिया र नास्ताका साथै असहज महशुस भएमा आराम कक्षको पनि व्यवस्था गरेको छ । साठी वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरायसी द्वन्द्व र तनावबाट मुक्त गराउने उद्देश्यका साथ सो केन्द्र स्थापना गरिएकोे उनको भनाइ थियो ।

उक्त केन्द्रका लागि गत आर्थिक वर्षमा उर्लाबारी नगरपालिकाबाट रु ७८ हजार ८०० सहयोग प्राप्त भएको थियो । केन्द्र सञ्चालनका लागि मासिक रु २२ हजारदेखि २५ हजारसम्म खर्च भइरहेको बताउँदै अध्यक्ष खरेलले भने, “सहयोगी दाता त्यति नभएकाले नपुगेको खर्च म आफैँले बेहोर्दै आएको छु।” खरेलकै अगुवाइमा उर्लाबारी मुख्य चोक नजिकै उर्लाबारीका व्यवसायी एवं समाजसेवी मानबहादुर श्रेष्ठ, प्रेमचन्द बाहेती, चेतराज श्रेष्ठ र कुमार श्रेष्ठले सो केन्द्र निर्माणका लागि जग्गा उपलब्ध गराउनु भएको हो ।

सो केन्द्र १०० ज्येष्ठ नागरिकलाई सेवा दिनसक्ने क्षमताको छ । उनीहरूलाई सहज रुपमा घरबाट ल्याउन र पु¥याउन बसको व्यवस्था गर्ने तयारी समेत भइरहेको केन्द्रका सहसचिव यामुना फागो राईले बताइन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version