काठमाडौँ : बडा दशैँमा घर जाने यात्रुसँग बढी भाडा असुल्ने १५ सार्वजनिक यातायातलाई थानकोटमा कारवाही गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

थानकोट नाका हुँदै विभिन्न स्थानमा जाने सवारीको चलानीमा उल्लेख गरिएको भाडादर र विभागले तोकेको दरमा फरक परेपछि यी सवारीलाई कारबाही गरिएको प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए । विभागले आज थानकोटमा अनुगमन थालेको हो ।

“विभागले ७०० रुपैयाँ तोकेको स्थानमा एक हजार रुपैयाँ, ४०० रुपैयाँ तोकेको स्थानमा ६०० रुपैयाँ को चलानी गरेका सवारीलाई आज कारबाही गरियो, तोकेभन्दा बढी भाडा लिने सवारीभित्र छिरेर तपाईहरुसँग कति भाडा लियो भनी सोद्धा यात्रुले सही सूचना दिएनन्, कोही बोल्नै चाहेनन्”–उनले भने ।

काठमाडौँबाट जुम्लासम्मको भाडा रु दुई हजार ८०० तोकिएकामा रु तीन हजार १५० लिएको लिखित उजुरी आएपछि सवारीलाई कारबाही गरी यात्रुबाट बढी लिइएको भाडा फिर्ता गरिएको विभागले जनाएको छ । यात्रुले बढी भाडा लिएको टिकटसहित उजुरी गरेमा कारवाही गरी बढी लिइएको भाडा पनि फिर्ता गराउने प्रवक्ता उपाध्यायले बताए ।

बढी भाडा लिने सवारीलाई पाँच हजार रुपैयाँसम्म जरिवाना गरिएको छ । कोटेश्वरबाट सिन्धुलीसम्मको भाडा ४८९ रुपैयाँ तोकिए पनि एक हजार रुपैयाँसम्म व्यवसायीले उठाइरहेका छन् । बल्खुबाट हेटौँडा चल्ने टाटा सुमोको भाडादर ४०० रुपैयाँ तोकिएकामा एक हजार, कलंकीबाट पोखराको भाडा ४८५ रुपैयाँ मा ९००, काठमाडौँबाट चितवनसम्मको भाडा ४९० रुपैयाँ तोकिएकामा ९०० रुपैयाँसम्म उठाइएको नागरिक अनुगमनका क्रममा देखिएको सार्वजनिक यातायात सुधार अभियानमा लाग्नुभएका रामबहादुर थापाले जानकारी दिए ।

उपत्यका बाहिर जाने सबै नाकामा विभागले अनुगमन गर्न नसक्दा पनि यात्रु ठग्ने क्रम चलिरहेको उनले बताए । दशैँका अवसरमा २५ लाखभन्दा बढी यात्रु उपत्यका बाहिर जाने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version