म्याग्दी: धवलागिरि गाउँपालिका–१ स्थित गुर्जा हिमालको आधार शिविरमा हिमआँधीमा परेर बेपत्ता भएका नौ जनाको चार दिनपछि आइतबार बिहान शव भेटिएको छ ।

हेलिकप्टरबाट आधार शिविरमा पुगेका सुरक्षाकर्मी र उद्धारकर्मीको टोलीले पहाडको खोँचबाट नौ जनाको शव सङ्कलन गरेका हुन् । आधार शिविरमा सङ्कलन भएको शवलाई गुर्जामा ल्याएर यकिन र पहिचान गरी हेलिकप्टरबाट गुर्जाका एक जनाको बेनी र अन्य आठ शव काठमाडाँै पठाउने तयारी भएको म्याग्दीमा प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढाले जानकारी दिए।

प्रहरीका अनुसार असोज २४ गते राति सुतिरहेको अवस्थामा आएको हिमआँधीमा परेर दक्षिण कोरियाका जहन लि, च्याङ हो किन, इल जिन रिम, योङ जिक यु र जुन मो जियोङको मृत्यु भएको छ ।

यसैगरी धवलागिरि गाउँपालिका–१ गुर्जाका २९ वर्षीय नेत्रबहादुर छन्त्याल, सङ्खुवासभाको हटियाका ३९ वर्षीय छिरिङ भोटे, सङ्खुवासभाकै भोटेखोला गाउँपालिका–३ का २१ वर्षीय लाक्पा साङबु भोटे र सोलुखुम्बू घर बताउने फुर्वा भोटेको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

टे«किङ क्याम्पस नेपालमार्फत गुर्जा हिमाल आरोहण र पदयात्राका लागि गएका उनीहरू असोज २४ गते रातिको हिमआँधीमा परेका थिए । आधार शिविर पुगेको टोली सम्पर्कबिहीन भएपछि शुक्रबार गुर्जाका बासिन्दा आधार शिविरतर्फ गएका थिए । स्थानीयवासीको टोली आधार शिविर पुगेर शुक्रबार राति फर्किएपछि शनिबार बिहान मात्रै दुर्घटनाको बारेमा जानकारी भएको वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए ।

बेनीदेखि चार घण्टा गाडी र आठ घण्टा पैदल हिँडेपछि पुगिने गुर्जा गाउँदेखि थप पाँच घण्टा हिँडेपछि आधार शिविर पुग्न सकिन्छ । पर्यटन विभागबाट ६० दिनको अनुमति लिएर उनीहरु गुर्जा हिमालको पहिलो पटक आरोहण गर्न आधार शिविर पुगेका थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version