काठमाडौँ: पछिल्लो समयमा मासुको माग बढेसँगै आयातमा पनि उल्लेख्य वृद्धि भएको छ। माग अनुसार देशमा मासु तथा मासु जन्य बस्तुको पर्याप्त उत्पादन नहुँदा आयातमा निर्भर हुनु परेको छ।

वार्षिक ५ अर्वबढीको चौपाया, तयारीमासु तथा माछाको आयात हुँदै आएको छ । गत आर्थिक वर्षमा लगभग पाँच अर्वको माछामासु आयात भएको ब्यापार तथा निकाशी प्रवर्धन केन्द्रको तथ्याङ्कले देखाउँछ । तत्थ्याङ्कका अनुसार गत वर्ष तीन अर्व बराबरको जीउँदो खसी बोका आयात भएको छ भने तयारी मासु १८ करोड रुपैयाँ र माछा एक अर्व ८३ करोड रुपैयाँको आयात भएको छ।
अघिल्लो वर्षको तुलनामा गत वर्ष जीउँदो खसी बोकाको आयातमा ८८ प्रतिशतले बृदी भएको छ भने तयारी मासु २७ प्रतिशतले र माछा लगभग ३२ प्रतिशतले वृद्धि भएको छ।

केन्द्रका कृष्ण बजगाईंका अनुसार किसानहरुको पशुपालन तर्फ आकर्षण कम हुँदै जानु र व्यवसायिक रुपमा पशुपालन नहुनु नै आयातको प्रमुख कारण हुन्।

“युवाहरु कामको खोजीमा विदेशीनु, आफ्नो देशमा लाज मान्नुले गर्दा आयातमा उल्लेख्य वृद्धि हुँदै गएको छ,” बजगाईंले भने।

जीउँदो खसीबोका ९९ प्रतिशत भारतबाट र केहि मात्रामा अस्ट्रेलियाबाट आउने गरेको छ भने तयारी मासु मलेसिया, थाइल्याण्ड, इटाली, फ्रान्स, अस्ट्रेलिया, पोल्याण्ड र जर्मनी लगायतका देशबाट आउने गरेको छ।

खसीबोका व्यवसायी दिपक थापाका अनुसार मागको लगभग ८० प्रतिशतभन्दा बढी भारतबाट आयात गर्नुपरेको छ। दशैंमा मात्रै लगभग ७५ हजार खसीबोका र १५ हजारभन्दा बढी च्यांग्रा काठमाडौँमा आयात हुने उनले बताए।

त्यस्तै, ८ हजारभन्दा बढी राँगा-भैंसी र ठुलो मात्रामा हाँस कुखुरा दशैंका बेलामा काठमाडौँमा खपत हुने उनले बताए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version