काठमाडौँ: डलरसँग नेपाली रुपैयाँ कमजोर हुँदा र अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि हुँदा नेपाल आयल निगमको मासिक घाटा दुई अर्व नाघ्ने भएको छ। भारतीय आयल निगमले पठाएको पछिल्लो मूल्य सूची अनुसार निगमको १५ दिनको घाटा एक अर्व ४ करोड पुग्ने निगमका निमित्त कार्यकारी निर्देशक शुशिल भट्टराईले बताए।
उनले भने, ” अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धि र नेपाली रुपैयाँ कमजोर हुनु निगमको घाटा बढ्नु मुख्य कारण हो।”
निगमले पेट्रोलियम पदार्थमा मूल्य समायोजन गरे पनि सेप्टेम्बरमा निगमको घाटा ६३ करोड रुपैयाँ भएको थियो।
उनका अनुसार पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ ५० पैसा, डिजलमा ९ रुपैयाँ ३२ पैसा, खाना पकाउने एलपिजी ग्यासमा प्रतिसिलिण्डर ४०४ रुपैयाँ ७३ पैसा घाटा रहेको छ भने मट्टीतेलमा प्रति लिटर १७ रुपैयाँ ८२ पैसा, हवाई इन्धन (आन्तरिक) ८ रुपैयाँ ८७ पैसा र हवाई इन्धन (बाह्य) ४५ रुपियाँ ६२ पैसा नाफा रहेको छ।
प्रतिडलर एक रुपैयाँ घट्दा निगमलाई मासिक १५ करोडको अतिरिक्त भार पर्ने बताउंदै भट्टराईले भने, “विगत महिनादिन देखि डलरसंग नेपाली रुपैयाँ कमजोर हुँदा निगमलाई ठुलो आर्थिक नोक्सान भएको छ।”त्यस्तै, प्रति ब्यारल कच्चा तेलको मूल्य एक डलर बढ्दा निगमलाई मासिक १८ करोडको भार पर्ने उनले बताए ।
निगमले घाटा ब्यहोरे पनि चाडपर्वको समय भएको हुनाले उपभोक्तालाई मध्यनजर गर्दै मूल्य समायोजन नगर्दा निगमको घाटा वृद्धि भएको उनले बताए ।
