काठमाडौँ: चीनले विपत्ति राहत उपकरण तथा मानवीय सहयोग स्वरुप नेपाल सरकारलाई १५० मिलियन चिनियाँ युआन (करिब दुई अर्ब ५३ करोड रुपैयाँ) सहायता प्रदान गर्ने सम्बन्धी सम्झौतामा शनिबार बेइजिङमा हस्ताक्षर भएको छ।

चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल र उनका चिनियाँ समकक्षी वेइ फेङहेले सहायतासम्बन्धी सम्झौतामा आज बेइजिङमा हस्ताक्षर गरे ।

आगामी पाँच वर्षमा उक्त सहायता प्राप्त हुने बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ । त्यसअघि दुवै देशका रक्षामन्त्रीले आपसी हित र चासोका विविध विषयमा विचारविमर्श गरेका थिए।

प्रतिरक्षा विश्वविद्यालय स्थापनामा सघाउन अनुरोध

उपप्रधानमन्त्री पोखरेलले नेपालमा सैन्य विश्वविद्यालय स्थापनामा सघाउन गरेको अनुरोधलाई उनका चिनियाँ समक्षीले सकारात्मक रुपमा लिदै दुवै देशका सेनाबीचको सहकार्य र साझेदारीमा जोड दिएका थिए।

उक्त दूतावासले जारी गरेको विज्ञप्तिअनुसार नेपालको उक्त अनुरोधप्रति सहमति जनाउँदै चीनले आपसी परामर्शमा सहयोगको विस्तृत विवरणलाई अन्तिम रुप दिइनेछ ।

उपप्रधानमन्त्री पोखरेलले सैन्य प्रशिक्षण, मानवीय सहायता, विपद् व्यवस्थापन, चिकित्सा उपकरण, शान्ति सैन्य सञ्चालनलगायत पारस्परिक चासोका विषयमा छलफल गर्दै सहयोगको अपेक्षा गरेका थिए। एकचीन नीति तथा तिब्बत मामिलामा नेपालबाट निरन्तर सहयोग प्राप्त भएकामा चिनियाँ रक्षामन्त्रीले नेपालको सराहना गरे ।

भेटवार्तामा दुवै देशका रक्षामन्त्रीले आपसी भ्रमण आदानप्रदानबाट नेपाल र चीनबीच उच्च राजनीतिक तहमा आशा, विश्वास र भरोसा अभिवृद्धि हुने बताएको उक्त दूतावासले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यसैवर्ष गरेको चीनको औपचारिक भ्रमणबारे पनि दुई देशका रक्षामन्त्रीबीच छलफल भएको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version