काठमाडौँ:राष्ट्रपति विद्यादेवी भण्डारीको सोमबारदेखि प्रारम्भ हुने चारदिने औपचारिक भ्रमणका क्रममा द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउन केन्द्रित हुनाका साथै केही सम्झौतासमेत हुने बताइएको छ ।

मित्र राष्ट्र कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी कतार प्रस्थान गर्दै छिन् ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्राध्यक्षको यस किसिमको भ्रमण मूलतः आपसी सम्बन्ध थप सुमधुर र सुदृढ पार्न केन्द्रित हुने भए पनि अतिरिक्त अन्य विषयमा समेत केन्द्रित हुने जानकारी दिए । मन्त्री ज्ञवालीले भने, “कतारमा ठूलो सङ्ख्यामा रहेका नेपाली कामदारको सुरक्षा र सरोकारका विषयमा विशेष छलफल हुनेछ । भ्रमण टोलीमा नेपालका उद्योगी व्यवसायीसमेत सहभागी हुने हुनाले नेपाल र कतारका बीचमा व्यापार विस्तारका क्षेत्रमा समेत छलफल केन्द्रित रहनेछ ।”

परराष्ट्रमन्त्री ज्ञवालीका अनुसार नेपालमा कतारको लगानी र प्रविधि मूलतः कृषि र पूर्वाधार निर्माणका क्षेत्रमा भित्र्याउने सम्बन्धमा विशेष छलफल हुने र सोहीअनुरुपका केही सम्झौता हुनेछन् । नेपालको हिमाली पानी प्रशोधन गरी कतारमा निर्यात गर्ने विषयमा समेत छलफल अगाडि बढेको मन्त्री ज्ञवालीले बताए ।

नेपाल र कतारबीचको आवागमनलाई सहज र निकट बनाउनका लागि सीधा हवाई उडान र कूटनीतिक राहदानीवाहकलाई प्रवेशाज्ञाविना नै आवतजावतको अनुमति दिने सम्बन्धमा समेत छलफल हुने बताइएको छ ।

राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री ज्ञवाली, राष्ट्रपति कार्यालयका विज्ञ माधव शर्मा, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालका सचिव विनोद केसी, नेपाल लगानी बोर्डका कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी, सञ्चारकर्मी एवम् उद्योगीसमेत रहने छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version