काठमाडौं : मुग्लिन–नारायणघाट सडकखण्डका पाँचवटा पुल जोखिममा छन्। सडक विभागको पुल महाशाखा प्रमुख अर्जुनजंघ थापाले क्षमता विस्तार गर्नुपर्ने १४ वटा पुलमध्ये पाँचवटा जोखिममा रहेको जानकारी दिए।

मुग्लिनबाट नारायणघाटतर्फका पाँच पुल बनाइएका स्थान साँघुरो र जीर्ण पनि हुँदै गएकाले जोखिम बढेको छ। महाशाखाको टोलीले सोमबार यो सडकखण्डका पुल अनुगमन गरेको छ। टोलीले तत्कालै पुनर्निर्माण गर्नुपर्ने र नयाँ निर्माण प्रक्रिया थाल्नुपर्ने १४ वटा पुलमध्ये पाँचवटालाई जोखिमको सूचीमा राखेको हो।

३६ किलोमिटर लामो यो सडकखण्डका १८ वटा पुलमध्ये चारवटा ठेक्का लागेर निर्माणको चरणमा छन्। बाँकी १४ वटा मर्मत गरेर फराकिलो र नयाँ बनाउनुपर्ने अवस्था छ। यो सडक स्तरोन्नति पूरा भएर सञ्चालनमा आइसकेको छ। तर, पुलकै कारण सवारी आवागमनमा समस्या हुने देखिएको छ। अहिले सडक राम्रो भएको र सवारीको चाप नपर्ने हुँदा समस्या छैन। तर, पाँचवटालाई भने कसरी निर्माण गर्ने र विकल्प के हुन सक्छ भनेर अनुमगन गरिएको थापाले बताए।

एसियाली स्तरको बनेको यो सडकका १४ वटा पुल जतिसक्दो छिटो बनाउनुपर्ने चुनौती सडक विभागलाई छ। यी पुल तीन महिनाभित्र ठेक्का प्रक्रियामा गइहाल्ने गरी विभागले गृहकार्य पनि अघि बढाएको छ।

मुग्लिनबाट नारायणघाटतर्फका पाँच पुल बनाइएका स्थान साँघुरो र जीर्ण पनि हुँदै गएकाले जोखिम बढेको छ।

यो सडक विश्व बैंकको दुई अर्ब ९० करोड रुपैयाँ सहुलियत ऋणमा दुई लेनबाट चार लेनमा विस्तार भएको हो। यसमा पुल बनाउन रकम विश्व बैंकले ऋण दिने भएको छ। २०३६ सालमा बनेका यो सडकका पुल जीर्ण भएको र नयाँ सडक बनेपछि पुल पनि अपग्रेड गर्नुपर्ने अवस्था आएको थापाले बताए। दोहोरो सवारी आवागमन गर्न सक्ने क्षमताकै भए पनि सडकको स्तरभन्दा कमजोर पुल भएकाले नयाँ निर्माण गर्नुपरेको विभागको भनाइ छ। यो समाचार अन्नपुर्ण पोस्टबाट साभार गरिएको हो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version